
काठमाडौं ।
पुतली बजार नगरपालिकाले कर भुक्तानीका लागि अनलाइन सेवा सुरु गरेको छ। सेवाग्राहीलाई सहज बनाउने उद्देश्यले अनलाइन कर भुक्तानी सेवा प्रारम्भ गरेको नगरप्रमुख तुलसीराम रेग्मीले बताए।
अनलाइन सेवा प्रयोग गर्न जान्ने जो कोहीले पनि स्थानीय कर अब आफ्नै घरमा बसेर भुक्तान गर्न सक्नेछन् । पालिका आएर कर भुक्तान गर्दा लामो सय खर्चनुपर्ने र पालो पर्खनु पर्ने झन्झटबाट मुक्त भएको रेग्मीले बताए।
पुतली बजारले प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमको सह–लगानीमा नवप्रवर्द्धन साझेदारी कोष कार्यक्रमअन्तर्गत सेवा सुरु गरेको हो ।
सेवा प्रवाहमा सूचना प्रविधिका नविनतम् उपाय, उपकरण, विधि र माध्यमहरूको प्रयोग गरी छिटो, पारदर्शी, जबाफदेही र जनमुखी सेवा प्रवाह गर्ने मुख्य उद्देश्य भएको रेग्मीले बताए।
यहाँ नगद रहित राजस्व सङ्कलन गर्न मिल्ने गरी क्युआर भुक्तानी समेतको सुरुवात गरिएको छ ।
नगरपालिका मात्र नभई यहाँका १४ ओटै वार्डमा कर अनलाइन तिर्ने व्यवस्था तत्काल बनाउने तयारी नगरपालिकाले गरेको छ। गोरखापत्रबाट
प्रकाशित: ३१ जेष्ठ २०८०, बुधबार