ईभीमा कर छुटको लाभ कुलिन वर्गले मात्र प्राप्त गरेः सांसद श्यामकुमार घिमिरे

Technology Khabar २५ जेष्ठ २०८०, बिहीबार

काठमाडौं ।

सांसद श्यामकुमार घिमिरेले इलेक्ट्रिक गाडीमा दिइने कर छुटको लाभ कुलिन वर्गले मात्र प्राप्त गरिरहेको बताएका छन्। ईभी कुलिन वर्गले मात्र चढ्ने भएकाले कर छुटको लाभ उनीहरुले मात्र प्राप्त गरिरहेको घिमिरेले बताए।

ईभी गाडीबाट सम्पूर्ण आर्थिक परिवर्तन, रुपान्ताण हुने र पेट्रोलियम पदार्थ विस्थापित हुन सक्ने संसदमा अभिव्यक्ति आइरहँदा फरक मत राख्दै उनले यस्तो बताएका हुन्।

‘१०० किलोवाट सम्मको विद्युतीय गाडीको प्रयोग कसले गर्छ। सहरीया इलिट क्लासले गर्ने हो। त्यसले विद्युत खपत कति गर्छ। घरबाट अफिस र अफिसबाट घर गर्दा कति विद्युत खपत हुन्छ,’ प्रतिनिधि सभाको बिहीबारको बैठक सांसद घिमिरेले भने, ‘उपत्यका बाहिर जाने ठूला गाडीमा ईभीको प्रयोग हुँदैन।’

सरकारले ईभीलाई प्रवर्धन गर्न पेट्रोलिय पदार्थमा आधारित सवारीमा लाग्दै आएको ३०० प्रतिशतसम्मको करलाई १० प्रतिशतमा झारेर सहुलियत प्रदान गरिरहेको पनि उनको दाबी छ।

त्यो सहुलियतको लाभ कुलिन वर्गले मात्र प्राप्त गरिरहेकाले सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा ईभीमा कर बढाउने नीतिको विरोध गर्न नहुने उनको भनाई छ।

साथै ब्याट्री व्यवस्थापन गर्नका लागि कुनै विधि र प्रविधि विकास नगरिएकाले यसबाट प्रदुषणको अत्यन्त जोखिम भएको पनि उनले बताए।

‘८/१० वर्ष पछि ब्याट्रीको अवधि सकिन्छ,’ उनले भने, ‘ब्याट्रीलाई नष्ट गर्ने कुनै विधि र प्रविधिको विकास गरेका छैनौं।’

प्रकाशित: २५ जेष्ठ २०८०, बिहीबार

तपाइको प्रतिक्रिया