भारतले सार्क स्याटेलाइटको ग्राउन्ड स्टेशन निर्माण र ३०० यूजर टर्मिनल दिने, नेपालसँग छैन् कुनै योजना

  • Technology Khabar | २२ जेष्ठ २०८०, सोमबार
भारतले सार्क स्याटेलाइटको ग्राउन्ड स्टेशन निर्माण र ३०० यूजर टर्मिनल दिने, नेपालसँग छैन् कुनै योजना
सांकेतिक तस्विर

काठमाडौं ।

– निर्दोष घोरसाइने

भारतले नेपाललाई दक्षिण एशिया स्याटेलाइट (‘सार्क स्याटेलाइट’) उपयोग गर्नका लागि थप सहयोग गर्ने भएको छ। सार्क स्याटेलाइटको उपयोगका लागि भारत सरकारले ग्राउन्ड स्टेशन निर्माण र यूजर टर्मिनल अनुदानमा उपलब्ध गराउने भएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका दौरान भएको द्विपक्षिय सम्झौतामा सार्क स्याटेलाइटको लागि ग्राउन्ड स्टेशन निर्माण र ३०० ओटा यूजर टर्मिनल उपलब्ध गराउने विषय पनि समावेश छ।

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले २०७४ सालमा सार्क स्याटेलाइट अन्तरिक्षमा प्रक्षेपण गरेको थियो। करिब १२ ओटा सर्किट रहेको उक्त स्याटेलाइटमा सबै सार्क मुलुकका सदस्य राष्ट्रका लागि एक/एक ओटा ट्रान्सपोन्डर उपहार स्वरुप दिइएको थियो।

त्योमध्ये ३६ मेगाहर्जको ट्रान्सपोन्डर नेपाललाई दिइएको हो। तर तत्कालिन समयमा सार्क स्याटेलाइटमा ट्रान्सपोन्डर प्राप्त गरेपनि नेपालले यसलाई प्रयोगमा ल्याउने तर्फ कदम अघि बढाएको थिएन्।

अहिले भने स्याटेलाइट उपयोग गर्नका लागि आवश्यक पर्ने ग्राउन्ड स्टेशन भारतले निर्माण गरिने दिने र यूजर टर्मिनल पनि अनुदानमा उपलब्ध हुने भएकाले यसको प्रयोग गरिने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव गौरव गिरीले टेक्नोलोजीखबरलाई जानकारी दिए।

‘भारतले आफ्नो उपयोगका लागि सार्क स्याटेलाइट प्रक्षेपण गरिसकेको छ। तर नेपालले यसको प्रयोगका लागि आफ्नै लगानीमा ग्राउन्ड स्टेशन र यूजर टर्मिनल तयार गर्नु पर्ने थियो,’ सहसचिव गिरीले भने, ‘त्यसका लागि महँगो लागत पर्ने र आवश्यक जनशक्तिको अभाव हुँदा नेपालले उक्त प्रस्तावका सम्बन्धमा धेरै प्रक्रिया अघि बढेको थिएन।’

उनकाअनुसार हाल यस बारेमा थप जानकारी नआएको र सहमति भएको भए परराष्ट्र मन्त्रालयमार्फत जानकारी आउने अपेक्षा गरिएको छ।

स्याटेलाइटमा आवश्यक कन्टेन्ट पठाउनका लागि ग्राउन्ड स्टेशन र त्यो कन्टेन्ट रिसिभ गर्नका लागि यूजर टर्मिनल आवश्यक पर्छ। उदाहरणका लागि हामीले घरमा हेर्ने डीटीएच टिभीलाई लिन सकिन्छ। डीटीएच टिभीमा ग्राउन्ड स्टेशनबाट पठाइएको कन्टेन्ट घरमा रहेको डिश एन्टेनाले रिसिभ गर्छ।

भारतसँग भएको पछिल्लो सम्झौता अनुसार ग्राउन्ड स्टेशन काठमाडौंको कुनै एक क्षेत्रमा निर्माण गरिने र यूजर टर्मिनल भने आवश्यकताका आधारमा फाइबर, तार, माइक्रोवेबबाट इन्टरनेट पुर्याउन नसकिएको स्थानमा राखिनेछ।

सम्भवत सार्क स्याटेलाइटको अधिकतम जटिल भौगोलिक संरचना रहेका स्थानमा गरिने मन्त्रालयको भनाई छ।

सहसचिव गिरीकाअनुसार भारतले दिने टर्मिनल दूर्गम क्षेत्रका विभिन्न स्थानहरुमा प्रयोग गर्न सकिनेछ।

“तर यसको बारेमा हाल कुनै योजना भएको छैन्। पछि मन्त्रालयले अध्ययन गरेर प्रयोग गर्न सक्नेछ।,” उनले भने।

सार्क स्याटेलाइटको प्रयोग अन्तरिक्ष प्रविधि एप्लिकेसनमा दूरसञ्चार र प्रसारण, टेलि–मेडिसिन, टेलि–शिक्षा, ई–गभर्नेन्स, बैंकिङ र एटीएम सेवाहरू, मौसम विज्ञान डाटा प्रसारण, विपद् प्रतिक्रिया र शैक्षिक र नेटवर्किङको क्षेत्रमा तथा अनुसन्धान संस्थाहरुमा गर्न सकिन्छ।

हालको सहमतिअनुसार भारत सरकारले अनुदानमा दिने उपकरणहरु पनि विभिन्न प्रकारका क्षेत्रमा प्रयोग गरिने उल्लेख छ।

द्विपक्षिय सहमतिअनुसार यस पहलले अन्तरिक्ष क्षेत्रमा क्षेत्रीय सहयोग, र दूरसञ्चार र प्रसारण, टेलि-मेडिसिन, टेलि-शिक्षा, ई-गभर्नेन्स, बैंकिङ र एटीएम सेवाहरू, मौसम विज्ञान डाटा प्रसारण, विपद् प्रतिक्रिया र शैक्षिक र अनुसन्धान संस्थाहरुको नेटवर्किङको क्षेत्रमा अन्तरिक्ष प्रविधि अनुप्रयोगहरू प्रवर्द्धन गर्नेछ।

प्रकाशित: २२ जेष्ठ २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...