
काठमाडौं ।
सरकारले गत आर्थिक वर्ष अर्थात २०७८/७९ मा आर्जन गरेको लाभांश र आयकरमा सबैभन्दा धेरै योगदान नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गरेको छ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको सार्वजनिक संस्थानहरुको वार्षिक स्थिति समिक्षा २०७९ काअनुसार नेपाल सरकारले प्राप्त गरेको कुल आयकरमा गत आर्थिक वर्षमा संस्थानको योगदान ६.५६ प्रतिशत रहेकोमा समीक्षा अवधिमा ५.५९ प्रतिशत रहन गएको छ।
यसमध्ये बढी आयकर योगदान गर्ने सरकारी संस्थानहरु मध्ये नेपाल टेलिकम अग्रस्थानमा रहेको छ। जसले सो अवधिमा (रू.४ अर्ब ६८ करोड ४३ लाख रुपैयाँ आयकर योगदान गरेको छ।
यसपछि मात्र राष्ट्रिय वाणिज्य बैङ्क (रू.१ अर्ब ७९ करोड ४० लाख), कृषि विकास बैङ्क लिमिटेड (रू.१ अर्ब ४३ करोड ६४ लाख) र निक्षेप तथा कर्जा सुरक्षण कोष (रू.१ अर्ब २ करोड १० लाख) रहेका छन्।
यसैगरी समीक्षा अवधिमा नेपाल सरकारले यस क्षेत्रका संस्थानबाट रू.२ अर्ब ७४ करोड ४९ लाख लाभांश प्राप्त गरेको छ र यो लाभांश एक मात्र सरकारी कम्पनी नेपाल दूरसञ्चार कम्पनी लिमिटेडबाट प्राप्त भएको प्रतिवेदनमा उल्लेख छ। लाभांस पाएको मध्ये पछिल्लो चार आवमा नेपाल टेलिकमको हिस्सा ४४.६० प्रतिशत रहेको तथ्यांकमा रहेको छ।
यसैगरी आर्थिक वर्ष २०७७/७८ को तुलनामा २०७८/७९ मा नेपाल टेलिकमको संचालन आयमा ५.५२ प्रतिशतले वृद्धि भएको देखिएको छ।यसैगरी आर्थिक वर्ष २०७८/७९ मा संचालन आय बढि भएका सरकारी संस्थाहरुमध्ये नेपाल टेलिकम तेस्रो स्थानमा छ जसले ३७ अर्ब ९१ करोड ९८ लाख कमाएको छ। यसका साथै सो अवधिमा प्रशासनिक खर्च धेरै हुने कम्पनी पनि नेपाल टेलिकम भएको छ भने वार्षिक दरमा १ अर्ब रुपैयाँ नाफा कमाउने संस्था रहेको छ।
यस बाहेक लगातार ५ वर्षसम्म नाफा कमाउने सरकारी संस्थाहरुको सूचीमा समेत नेपाल टेलिकम रहेको छ।
प्रकाशित: १४ जेष्ठ २०८०, आईतवार