हालसम्म १३ लाख भन्दा बढीले लिए विद्युतीय राहदानी

  • Technology Khabar | १४ जेष्ठ २०८०, आईतवार
हालसम्म १३ लाख भन्दा बढीले लिए विद्युतीय राहदानी

काठमाडौं ।

सरकारले देशभरका पासपोर्ट उपलब्ध गराउने निकायहरुबाट २०७९ फागुनसम्म १३ लाख १४ हजार थान भन्दा बढी विद्युतीय राहदानी जारी गरेको छ।

अर्थ मन्त्रालयले आईतबार सार्वजनिक गरेको तथ्यांकअनुसार २०७८ मंसिर १ गते देखि विद्युतीय राहदानी(E-Passport) वितरण शुरू गरी २०७९ फागुनसम्म १३ लाख १४ हजार थान भन्दा बढी विद्युतीय राहदानी जारी भएको छ।

तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/७९ मा कुल ४ लाख १९ हजार ९ सय ७४ ई-पासपोर्ट जारी भएको छ भने आर्थिक वर्ष २०७९/८० मा ८ लाख ९४ हजार ६५६ ओटा ई-पासपोर्ट बितरण गरिएको उल्लेख छ।

यसमध्ये ३ लाख ७१ हजार ४६ जना महिला तथा ५ लाख ४० हजार ९९१ पुरुषले विद्युतीय राहदानी लिएका छन्।

सेवाग्राहीलाई आवेदन गरेको मितिबाट काठमाडौँदेखि नजिकका जिल्लामा १० देखि १२ दिनभित्र, तराईका जिल्लामा १२ देखि १५ दिनभित्र, पहाडका सुगम जिल्लामा १५ देखि २० दिनभित्र, हिमाली जिल्लामा २० देखि ३० दिनभित्र र विदेशस्थित नेपाली नियोगमा २० देखि ३५ दिनभित्र राहदानी पुर्याई वितरण गर्ने कार्यको थालनी भएको प्रतिवेदनमा उल्लेख छ।

कन्सुलर सेवा थप सहज, सरल तथा प्रभावकारी बनाउन चालु आर्थिक वर्षको फागुनसम्म ४१ जिल्लाका जिल्ला प्रशासन कार्यालय तथा ११५ स्थानीय तहसँग सहकार्य शुरु भएको छ।

ई-भिसा लागू गर्न क्यूआर कोड (QR Code) सहितको सिस्टम जेनेरेटड भिसा (System Generated Visa) व्यवस्था शुरु भएको छ। सबै प्रकारका भिसाको आवेदन अनलाईनबाट गर्न सकिने गरी नेपाली पोर्ट प्रणालीको मोड्युल प्रयोगमा आएको उल्लेख छ।

यसैगरी सर्वेक्षण प्रतिवेदनकाअनुसार नागरिकता सूचना व्यवस्थापन प्रणाली (सीआईएमएस/CIMS) मार्फत् सबै जिल्ला प्रशासन कार्यालय, ७० इलाका प्रशासन कार्यालय र ३ सीमा प्रशासन कार्यालयबाट नागरिकता वितरण हुँदै आएको छ। गृह मन्त्रालयमा भएका सबै अङ्गीकृत नेपाली नागरिकता सम्बन्धी अभिलेखलाई यस प्रणालीमा अभिलेखीकरण गरिएको छ।

प्रकाशित: १४ जेष्ठ २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

दुर्गममा दू्र चिकित्सा सेवा प्रभावकारी

  • Technology Khabar
  • १४ जेष्ठ २०८०, आईतवार