
काठमाडौं ।
ग्लोबल स्मार्टवाचको ढुवानी २०२३ को जनवरी–मार्च महिनाहरूमा १.५ प्रतिशतले घटेको र उक्त गिरावटसँगै सेगमेन्टमा नकारात्मक वृद्धिको यो लगातार दोस्रो त्रैमासिक भएको छ।
काउन्टरपोइन्ट रिसर्च प्रतिवेदनका अनुसार, एप्पल, सामसङ र ह्वावे जस्ता प्रमुख खेलाडीहरू सबैले कठिन आर्थिक परिदृश्यको बीचमा टेक प्रोडक्टस (उत्पादनहरू) को कम मागका कारण २०२३ को पहिलो त्रैमासमा नकारात्मक ढुवानी भोल्यूम देखेको जीएसएमएरिनामा उल्लेख गरिएको छ।
यद्यपी, भारतको स्मार्टवाच बजारमा इन्ट्रि–लेभल स्मार्टवाचहरूको उच्च मागको कारणले ढुवानीमा १२१ प्रतिशत वाषिर्क दरको वृद्धि भएको उल्लेख छ। साथै डेडिकेटेड ओएस नचलाउने आधारभूत स्मार्टवाचहरूले सम्पूर्ण स्मार्टवाच ढुवानीको लगभग ३४ प्रतिशत बनाउने काउन्टरपोइन्टको अनुमान रहेको छ।
पहिलो त्रैमासिकमा भारतमा ढुवानी भएका अनुमानित ४० प्रतिशत सबै स्मार्टवाचहरूको मूल्य भारु २,००० (२५ डलर) भन्दा कम रहेको उल्लेख गरिएको छ।
एप्पल २६ प्रतिशत बजार हिस्साका साथ टप–स्मार्टवाच ब्रान्ड बन्न सफल भयो भने भारतीय ब्रान्ड फायर–बोल्ट ९ प्रतिशत बजार हिस्साका साथ सामसङलाई उछिन्दै दोस्रो भएको उल्लेख छ। गत वर्षको तुलनामा ग्लोबल स्मार्टवाच सिपमेन्ट्स (विश्वव्यापी स्मार्टवाच ढुवानी) मा १५ प्रतिशतले कमी आएपछि सामसङ तेस्रो स्थानमा रहेको बताइएको छ।
त्यसैगरी, प्रति–क्षेत्रीय आधारमा, भारतले स्मार्टवाचको सम्पूर्ण ढुवानीमा २७ प्रतिशत योगदान पुर्याएको र त्यसपछि उत्तरी अमेरिकाले २६ प्रतिशत र चीनले १८ प्रतिशत योगदान पुर्याएको र समग्र ढुवानी सेयरमा २८ प्रतिशतको ठूलो गिरावट देखिएको छ।
प्रकाशित: १४ जेष्ठ २०८०, आईतवार