
काठमाडौं ।
चिनियाँ मोबाइल ओप्पो युरोपेली बजारमा समस्यामा परेको छ। हालै ओप्पो सम्बन्धी एउटा नयाँ मामला बाहिर आएको छ जसले गर्दा ओप्पोको आधिकारिक वेबसाइट जर्मनीमा बन्द गरिएको छ।
पछिल्लो समाचार अनुसार कम्पनीको आधिकारिक जर्मन वेबसाइट पूर्ण रूपमा ‘खाली’ गरिएको छ। अर्थात्, यस वेबसाइटबाट सबै प्रकारका स्मार्टफोन र उत्पादनहरू हटाइएको छ र सबै सूचीहरू डिलिट गरिएको छ। स्मरणरहोस् चिनियाँ ब्रान्ड ओप्पोका मोबाइल फोन र अन्य उत्पादनहरूको बिक्री जर्मनीमा पहिले नै रोकिएको थियो।
अब कम्पनीको वेबसाइटबाट सबै प्रकारका उत्पादन र ब्यानर पनि हटाइएका छन् । हाल, ओप्पोको जर्मनी वेबसाइटमा युईएफए च्याम्पियन्स लिगको ब्यानर मात्र छ। तपाईं यो वेबसाइट भ्रमण गर्न सक्नुहुन्छ।
उल्लेखनीय कुरा के छ भने ओप्पो मात्र होइन चिनियाँ ब्राण्ड वनप्लसलाई पनि जर्मनीमा प्रतिबन्ध लगाइएको छ र त्यहाँ वनप्लस स्मार्टफोनको बिक्री पनि रोकिएको छ।
ओपो र वनप्लस फोन किन प्रतिबन्धित ?
उल्लेखनीय कुरा के छ भने, फिनिस कम्पनी नोकियाले ओप्पो र वनप्लसविरुद्ध पेटेन्ट उल्लंघनको विषयमा मुद्दा दायर गरेको थियो। यस मुद्दामा म्युनिख अदालतले दुवै चिनियाँ ब्रान्डलाई दोषी ठहर गर्दै देशमा बेचबिखनमा प्रतिबन्ध लगाएको थियो। यी दुवै ब्रान्डले आफ्नो मोबाइलमा प्रयोग गरिरहेको ५जी प्रविधिको प्याटेन्ट नोकियासँग मात्रै भएको र नोकिया फाइभजी प्रविधिको लाइसेन्स पनि ओप्पो र वनप्लस दुबैले नलिएको नोकियाले आरोप लगाएको छ।
मिडिया रिपोर्टका अनुसार जुन ३० पछि ओप्पोले फ्रान्समा पनि आफ्नो व्यापार बन्द गर्न सक्छ। त्यसैगरी, आगामी दिनहरूमा, ओप्पो र वनप्लस फोनहरू युरोपका अन्य बजारहरूमा पनि बिक्री बन्द हुन सक्नेछन्।
उल्लेखनीय कुरा के छ भने नोकियाले ओप्पो र वनप्लसविरुद्ध युरोपका अन्य देशहरु फ्रान्स, स्पेन, फिनल्याण्ड, स्वीडेन, नेदरल्याण्ड र बेलायतमा मुद्दा दायर गरेको छ र यसको निर्णय आउन बाँकी छ।
प्रकाशित: २ जेष्ठ २०८०, मंगलवार