
काठमाडौं ।
पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एशिया च्याम्पियनसिप स्प्रिङ २०२३ को फाइनल पुग्नबाट दुई नेपाली टिम बञ्चित भएका छन्। लिग चरणमा राम्रो प्रदर्शन गर्न नसक्दा रअ अफिसल र स्काई लाइट गेमिङ फाइनलको यात्रा गर्नबाट चुकेका हुन्।
बैशाख २१ देखि २४ गतेसम्म चलेको ४ दिनको लिग चरणको कुल १६ खेलमा यी दुई नेपाली टिमले खराब प्रदर्शन गरेका थिए। रअ अफिसलले ११ प्लेसमेन्ट र ३८ इलिमेसन प्वाइन्ट सहित ४९ अंक बटुल्दै १७ औं स्थानमा रहेको छ भने स्काई लाइट गेमिङले १६ प्लेसमेन्ट प्वाइन्ट र ३२ इलिमेसन प्वाइन्ट सहित ४८ अंक हासिल गर्दै १९ औं स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको हो।
लिग चरणको विजेता मंगोलियाको स्टलवार्ट इस्पोर्ट्स बनेको छ। स्टलवार्टले कुल ३ चिकेन डिनरसहित ६४ प्लेसमेन्ट प्वाइन्ट र ११७ इलिमिनेसन प्वाइन्ट सहित १८१ अंक हासिल गर्दै लिग चरण जितेको हो।
दोस्रो र तेस्रो स्थानमा पनि मंगोलियाका टिम फोरमिराकल भाइब्स र म्याबिटेक्स इस्पोर्ट्स रहन सफल भएका छन्।
यस प्रतियोगिताको लिग चरणमा नेपाल, पाकिस्तान र मंगोलियाका गरी कुल २० टिमको सहभागिता थियो। पाकिस्तानबाट ८ टिम, नेपालबाट ७ टिम र मंगोलियाबाट ५ टिमले प्रतिस्पर्धा गरेका थिए।
फाइनल पुग्नबाट नेपाल र पाकिस्तानका समान २/२ टिम बञ्चित भएका छन्। फाइनल पुग्न नसक्ने पाकिस्तानका दुई टिम ३एक्स इस्पोर्ट्स र ५२ इस्पोर्ट्स रहेका छन्। उनीहरु क्रमशः १८ औं र २० औं स्थानमा रहेका छन्।
फाइनल पुग्न नसक्ने यी चार टिम मध्ये १९ औं र २० औं स्थानमा रहने टिमले समान १/१ हजार अमेरिकी डलर प्राप्त गरेका छन् भने १७ औं स्थानमा रहनेले २ हजार अमेरिकी डलर र १७ औं स्थानमा रहने टिमले १ हजार ५०० अमेरिकी डलर प्राप्त गरेका छन्।
लिग चरणमा शीर्ष स्थानमा पुग्ने टिम फाइनलका लागि छनोट भएका छन्। फाइनल बैशाख २८ देखि ३१ गतेसम्म ४ दिनसम्म सञ्चालन हुनेछ। फाइनलमा कुल २० खेल हुनेछ।
यस प्रतियोगिताको कुल पुरस्कार राशी १ लाख ५० हजार अमेरिकी डलर छ। विजेताले २६ हजार अमेरिकी डलर प्राप्त गर्नुका साथै पब्जी मोबाइल वर्ल्ड लिग इन्भिटेस्नलका लागि छनोट हुनेछ। प्रतियोगितामा सहभागी हुने टिमहरुले अंक तालिकाका आधारमा पुरस्कार रकम प्राप्त गर्नेछन्।
प्रकाशित: २५ बैशाख २०८०, सोमबार