
काठमाडौं ।
इन्टरनेट सेवा प्रदायकहरुको छाता संस्था इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)ले आज सोमबार बिहानदेखि काठमाडौं महानगरपालिका भित्रका विभिन्न क्षेत्रहरुमा तार व्यवस्थापनको कार्य शुरु गरेको छ।
आइस्पानले तार व्यवस्थापनको बारेमा आईतवार काठमाडौं महानगरको टोलीसँग छलफल गरेसँगै तार व्यवस्थापनमा जुटेको हो।
आइस्पानकाअनुसार महानगरसँगको सहकार्यमा आइस्पान र नेपाल दूरसञ्चार प्राधिकरणको संयोजनमा आज बिहानदेखि पहिलो चरणमा माइतीघरदेखि एयरपोर्टसम्म र न्यूरोडदेखि असनसम्म तार व्यवस्थापन गर्ने भएको आइस्पानका सीईओ सुभाष खड्काले जानकारी दिए।
यसअघि उनले टेक्नोलोजीखबरसँगको कुराकानीमा यसको लागि हामीले कार्यबिधी बनाएर काम गरिरहेको बताएका थिए।

उनकाअनुसार तार व्यवस्थापनको लागि आइस्पानको पहलमा सबै सेवा प्रदायकहरुसँग घनिभूत छलफल भएको छ र सबै सेवा प्रदायकहरुले आफ्ना प्राविधिक टिमको सहयोगमा तार व्यवस्थापन गर्ने छन्।
यसका साथै सेवा प्रदायकहरुले आफूले शुरु गरेको तार व्यवस्थापनको कार्यको बारेमा प्रत्येक साता समिक्षा गर्ने र त्यसमा सुधार गर्दै जाने भएका छन्।
यसअघि पनि आइस्पानले सिंहदरबार, पुतलीसडक र ललितपुर जिल्लामा तार व्यवस्थापनको कार्य गरिसकेका छन्।
प्रकाशित: २५ बैशाख २०८०, सोमबार