अब इम्बोस्ड नम्बर प्लेटमा प्रदेशको नाम नेपालीमा र अंक अंग्रेजीमा

  • Technology Khabar | १४ बैशाख २०८०, बिहीबार
अब इम्बोस्ड नम्बर प्लेटमा प्रदेशको नाम नेपालीमा र अंक अंग्रेजीमा

काठमाडौं ।

इम्बोस्ड नम्बर प्लेट नेपाली र अंग्रेजी दुवै भाषामा लेखिने भएको छ। इम्बोस्ड नम्बर प्लेटमा प्रदेशको नाम नेपाली र अंक अंग्रेजीमा लेखिने भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव ई. अर्जुनजंग थापाले जानकारी दिए।

२०७९ चैत २० गतेको मन्त्रिपरिषद्को बैठकले इम्बोस्ड नम्बर प्लेट देवनागरीमा छपाइ गर्न पाउने निर्णय गरेको थियो।

मन्त्रिपरिषदको सोही निर्णय अनुसार यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेटमा प्रदेशको नाम नेपाली र अंक भने अंग्रेजीमा लेख्ने विषयमा जानकारी गराइसकेको छ। अब यो कार्यान्वयनमा हुन मात्र बाँकी रहेको सहसचिव थापाले बताए।

२०७३ जेठ १७ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग र डेकाटुर टाइगर आइटी कम्पनी (अमेरिकी र बंगलादेशी संयुक्त कम्पनी)बीच पाँच वर्षभित्र २५ लाख सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने सम्झौता भएको थियो। नेपालमा प्रयोगमा ल्याउन खोजिएको इम्बोस्ड नम्बर अंग्रेजीमा लेखिएको भनेर भाषाको विवाद उत्पन्न भएको थियो।

इम्बोस्ड नम्बर प्लेट जडान गर्नु पर्ने म्याद २०७८ भदौमा सकिएको थियो। सरकारले इम्बोस्ड नम्बर प्लेट जडान गर्न साढे वर्षको समय थप गरेर सम्झौता नवीकरण गरेको छ।

नवीकरण गरिएको सम्झौता पनि २०८० मंसिर १२ गते सम्पन्न हुनेछ।

सरकारले इम्बोस्डमा राख्ने भाषा टुंगो लगाए पनि प्राविधिक विषय मिलाउनुपर्ने भन्दै ठेकेदार कम्पनीले अझै नम्बर प्लेट छपाइ गरेको छैन।

‘नम्बर प्लेटमा देवनागरी लिपी राख्नका लागि उनीहरूको सिस्टममा परिवर्तन गर्नुपर्ने रहेछ’, इन्जिनियर थापाले भने, ‘उनीहरूले त्यसका लागि तयारी गर्दैछ। अब छिट्टै सुरू हुन्छ। हामीले सोहीअनुसार तयारी गर्न भनेर सम्बन्धित ‘पार्टी’लाई निर्देशन दिएका छौं।’

विविआइएनअन्तर्गतका बङ्गलादेश, भुटान र भारतमा समेत नेपाली सवारी साधन चल्ने र उनीहरूको उपकरणले नेपाली नम्बर प्लेटलाई बुझ्नसक्ने हुनुपर्ने भएकाले इम्बोस्ड नम्बरमा नेपाली र अंग्रेजी भाषाको प्रयोग गरिएको उनको भनाइ थियो। भारत, चीनलगायत कतिपय मुलुकमा समेत इम्बोस्ड नम्बर अंग्रेजीमा छपाइ हुने गरेको इन्जिनियर थापाको भनाइ छ।

सरकारले देवनागरी लिपिमा इम्बोस्ड नम्बर छपाइ गर्ने भने पनि मन्त्रालयबाट स्पष्ट निर्देशन नआउँदा यातायात व्यवस्था विभागले सो कार्य अगाडि बढाउन नसकिएको जिकिर गरेको छ।

विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरूले यस सम्बन्धमा विभागबाट कुनै तयारी नभएको र मन्त्रालयको निर्देशनको पर्खाइमा आफूहरू रहेको बताए।

‘देवनागरी लिपिमा छाप्ने भन्ने भयो, तर कुनकुन अक्षर र अंक देवनागरीमा छाप्ने भन्ने स्पष्ट भएको छैन’, उनले भने, ‘मन्त्रालयबाट निर्देशन आएपछि मात्रै काम सुरू हुन्छ।’

विभागले अहिले पुरानै व्यवस्थाअनुसार इम्बोस्ड छपाइ गरिरहेको छ।

‘अंग्रेजीलाई अमान्य भनेको होइन, इम्बोस्ड नम्बरका लागि प्राप्त ‘अर्डर’ अनुसार प्लेट छपाइ भइरहेको छ’, सूचना अधिकारी पनेरुले भने।

हालसम्म करिब तीन लाख इम्बोस्ड नम्बर छपाइ भएको छ।

प्रकाशित: १४ बैशाख २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

झापामा ‘ड्रोन’ बाट बाढीको जोखिम निगरानी

  • Technology Khabar
  • १४ बैशाख २०८०, बिहीबार