
काठमाडौं ।
सरकारले नेपालमा उत्पादन हुने सवारीसाधान दर्ता गर्न सकिने व्यवस्था गरेको छ। यातायात व्यवस्था विभागले ‘यातायात व्यवस्थापन कार्यविधि निर्देशिका’ संशोधन गरेर नेपालमै निर्माण गरिएका सवारी दर्ता गर्न बाधा नगर्ने व्यवस्था थपेको हो।
विभागको बुधबारको निर्णय बमोजिम यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० को बुँदा नम्बर ११.१ अन्तर्गत नयाँ बुँदा ११.१.९ थप गरी संशोधन गरिएको हो।
यातायात व्यवस्थापन कार्यविधि निर्देशिकाको ११.१.९ बुँदामा नेपालमा जडान वा उत्पादन हुने सवारी दर्ता सम्बन्धी विशेष व्यवस्था गरिएको छ।
बुँदाको उपबुँदा १ मा ‘अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि विदेशबाट पाटपुर्जा आयात गरी नेपालमा जडान हुने वा नेपालमा नै उत्पादन हुने सवारीको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुनः दर्ता र नामसारी लगायतका प्रयोजनका लागि त्यस्तो सवारीको भन्सार प्रज्ञापनपत्र आवश्यक पर्ने छैन’ भन्ने लेखिएको छ।
यस्तै उपबुँदा २ मा नेपालमा जडान हुने वा उत्पादन हुने सवारीको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुनः दर्ता र नामसारी लगायतका कार्यका लागि जडानकर्ता वा उत्पादक कम्पनीले भन्सार प्रज्ञापनपत्रको सट्टा मूल्य अभिवृद्धि कर विजक र प्रचलित कानून बमोजिम अन्तःशुल्क सम्बन्धी प्रावधान आकर्षित हुने सवारीको हकमा अन्तःशुल्क निकासी फारमसमेत पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
कार्यविधि निर्देशिका संशोधन भएसँगै नेपालमै उत्पादन गरिरहेका तथा एसेम्बल गरिरहेका र तयारीमा रहेका सवारी सहज रुपमा दर्ता हुने भएको छ। अब यो व्यवस्थासँगै नेपालमा डिजाइन गरिएको र आयाती सामानबाट निर्माण गरिएको यात्रीका मोटरसाइल दर्ता हुने बाटो खुलेको छ। यस अघि कानुनी अड्चन भएको भन्दै बागमती प्रदेश अन्तर्गतका यातायात कार्यालयहरुले यात्रीका सवारी दर्ता गर्न मानिरहेका थिएन्।
यात्रीका मोटरसाइल दर्ता नभएको र त्यसका चालकलाई ट्राफिक प्रहरीले धरपकडको विषय सामाजिक सञ्जालमा भाइरल भए पनि प्रधानमन्त्री पुष्पकमल दाहालले चासो देखाएका थिए। प्रधानमन्त्रीले बैशाख १० गते स्वदेशमा बनेका सवारी साधन दर्ता प्रक्रियाका लागि कानुनको मस्यौदा अगाडि बढाउन तथा प्रोत्साहनको नीति ल्याउन निर्देशन दिएका छन्। प्रधानमन्त्रीको निर्देशन र सामाजिक सञ्जालमा चर्को विरोध भए पछि विभागले बैशाख १३ गते यातायात व्यवस्थापन कार्यविधि निर्देशिका सम्बोधन गरेर स्वदेशमा उत्पादित सवारी दर्ता गर्ने बाटो खोलिदिएको हो।
यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० संशोधन
प्रकाशित: १४ बैशाख २०८०, बिहीबार