
काठमाडौं ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ड्राइभिङ लाइसेन्स १० वर्षमा नवीकरण गरिने प्रक्रिया अगाडि बढाएको बताएका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक, शून्य र विशेष समयमा उठेका प्रश्नहरुको जवाफ दिँदै उनले सो जानकारी दिएका हुन्।
‘नविकरणका सन्दर्भमा पाँच वर्षमा छिटो हुने भएकोले र अलि झण्झटिलो पनि हुने भएकाले यसलाई १० वर्षमा नवीकरण गर्न कानुनी रुपमै प्रक्रिया अगाडि बढाएका छौं,’ उनले भने।
हाल नियमितरुपमा ५ वर्षमा ड्राइभिङ लाइसेन्स नविकरण गर्नुपर्ने कानूनी व्यवस्था छ।
पाँच वर्षमा नवीकरण गर्नुपर्ने प्रावधानलाई बदलेर १० वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था गर्दा नयाँ स्मार्ट कार्ड छाप्नका लागि जुन किसिमको दबाब छ त्यो कम हुने विश्वास लिइएको उनले जानकारी गराएका छन्।
मन्त्री ज्वालाले लाइसेन्सका लागि लाइनमा लाग्नुपर्ने बाध्यता समेत छिटै अन्त्य गर्ने उल्लेख गरे।
यसका साथै उनले इम्बोस्ड नम्बर प्लेटको विषयमा मन्त्रिपरिषदले पास गरिसकेको हुँदा छिटै लागू हुने जानकारी दिए।
प्रकाशित: १२ बैशाख २०८०, मंगलवार