
काठमाडौं ।
राष्ट्रिय सूचना प्रविधि केन्द्रका सहायक निर्देशक रमेश प्रसाद पोखरेलका विरुद्ध भष्ट्राचारको मुद्दा दायर भएको छ।
यसअघि सुरक्षण मुद्रण केन्द्रमा प्रतिनिधिको रुपमा कार्यरत रहेका पोखरेल हाल राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी) मा सहायक निर्देशक तथा प्रवक्ताको रुपमा कार्यरत छन्।
सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहितका कर्मचारीहरु सहित सुरक्षण मुद्रण केन्द्रमा प्रतिनिधिको रुपमा रहँदा भ्रष्ट्राचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरेल विरुद्ध पनि सोही मुद्दामा आरोपी कायम गरि आरोप पत्र दायर गरेको हो।
पोखरेलका विरुद्ध आयोगले रु.२० करोड ३८ लाख ९३ हजार ८२७ रुपैयाँ ६३ पैसा बराबरको बिगोसहित मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए।
उनको विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ (१) को खण्ड (क) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी बिगोसमेत असुल उपर हुन मागदावी लिइएको आयोगले जनाएको छ।
प्रकाशित: ३ बैशाख २०८०, आईतवार