
काठमाडौं ।
कृषि क्षेत्रमा देखिएका समस्यालाई नवीन प्रविधिको माध्यमबाट समाधान खोज्न सरोकारवालाले जोड दिएका छन्।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, संयुक्त राष्ट्रसङ्घीय कृषि तथा खाद्य सङ्गठन र सीडीएफको संयुक्त आयोजनामा बुधबार भएको ‘एग्रोटेक सिम्पोजियम’ विषयक कार्यक्रममा सरोकारवालाहरुले बताएका हुन्। सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउतले कृषि उत्पादनदेखि सेवासम्ममा डिजिटलाइजेसनले निकै प्रभाव पारेको बताए। यसले उत्पादन र बजारसम्म पहुँच पु¥याएको बताउँदै उहाँले नेपालमा कृषि उत्पादन कम भइरहेको बताए। वार्षिक तीन खर्बभन्दा बढीको खाद्यवस्तु आयात भइरहेको बताउँदै उहाँले भन्नुभयो, “नेपाल इम्पोटर मात्र भएको छ, चाहेकोजति उत्पादन गर्दैन ।”
देशलाई कृषिप्रधान देश भनिए पनि खाद्यवस्तुमा आत्मनिर्भर नभएको बताउँदै उहाँले खाद्य सम्प्रुभताको देश नभएको धारणा राखे। कृषिमा लगानीअनुसारको फाइदा नदेखिएको बताउँदै उहाँले मूल्य शृङ्खलामा पनि काम गर्नुपर्छ, त्यसका लागि डिजिटल प्रविधिको मुख्य भूमिका रहेको बताए। नेपालमा चार करोडभन्दा बढी सिम प्रयोग भइरहेका छन्, एक सय जनामा १२३ सिम प्रयोग भइरहेको जानकारी गराउँदै उनले यसलाई कृषिमा कसरी प्रयोग गर्न सकिने त्यसको बारेमा छलफल गर्नुपर्ने बताए।
कृषि मन्त्रालयका सचिव डा.गोविन्द शर्माले कृषिलाई प्रविधिमैत्री बनाउनुपर्ने कुरामा जोड दिए। किसानलाई सूचीकरण गर्ने काम भइरहेको छ, त्यसलाई प्रविधिमैत्री बनाउने लक्ष्य मन्त्रालयले लिएको बताउँदै सचिव शर्माले किसानको तथ्याङ्कलाई डिजिटलाइजेसन गरिरहेको जानकारी गराए। युवा जनशक्ति तयार गरी कृषि प्रणालीलाई प्रविधि बनाएर अगाडि लैजाने बताए।
गोरखापत्रबाट
प्रकाशित: ३० चैत्र २०७९, बिहीबार