
काठमाडौं ।
नेपालमा भुक्तानी सेवा वालेटको प्रयोग बढ्दो क्रममा देखिएको छ। नेपाल राष्ट्र बैंकले फागुन मसान्तसम्मका लागि सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा फागुनमा वालेटबाट १८ अर्ब १५ करोड ६० लाख रुपैयाँ कारोबार भएको देखिएको हो।
माघको तुलनामा फागुनमा वालेटबाट हुने कारोबार रकम १ अर्ब ३ करोड ८० लाख रुपैयाँले बढेको राष्ट्र बैंकको तथ्यांकमा देखिन्छ। माघमा वालेटबाट १७ अर्ब ११ करोड ८० लाख रुपैयाँको कारोबार भएको थियो।
फागुन मसान्तसम्म वालेट प्रयोगकर्ता १ करोड ६७ लाख ५१ हजार ७१३ पुगेका छन्। फागुनमा वालेटबाट १ करोड ९७ लाख ८७ हजार २५८ पटक कारोबार भएको छ।
राष्ट्र बैंकका अनुसार नेपालमा २९ ओटा वालेट सेवा प्रदायकहरु सञ्चालनमा रहेका छन्।
सहज र सरल तरिकाबाट भुक्तानी गर्न सकिने भएकाले पछिल्लो समय नेपालमा वालेटको प्रयोग बढ्दो क्रममा छ। विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट निःशुल्क वालेटमा रकम लोड गर्न सकिने भएकाले पनि यसमा प्रयोगकर्ताको आकर्षण बढ्दो छ।
मोबाइलमा वालेट एप डाउनलोड गरेपछि प्रयोगकर्ताले रकम लोड गरेर मोबाइल टपअप, बिजुली तथा खानेपानीको बिल भुक्तानी, बीमा पोलिसी खरिद तथा नविकरण, अनलाइन भुक्तानी, राजश्व, जरिवाना लगायतको भुक्तानी गर्न सक्छन्। साथै बैंक खाता नहुनेहरुले पनि वालेटको प्रयोग गर्न सक्ने भएकाले प्रयोगकर्ताहरुको आकर्षण बढेको देखिन्छ।
प्रकाशित: २९ चैत्र २०७९, बुधबार