इलन मस्क संसारको सबैभन्दा महँगो रकेट उडाउने तयारीमा, ‘स्टारशिप’को प्रक्षेपण परीक्षण अर्को साता

  • Technology Khabar | २४ चैत्र २०७९, शुक्रबार
इलन मस्क संसारको सबैभन्दा महँगो रकेट उडाउने तयारीमा, ‘स्टारशिप’को प्रक्षेपण परीक्षण अर्को साता

काठमाडौं ।

इलन मस्कको कम्पनी स्पेसएक्सले आफ्नो नयाँ रकेट ‘स्टारशिप’ को प्रक्षेपण परीक्षणको तयारी गरिरहेको छ। यो संसारको सबैभन्दा भारी र महँगो रकेट मध्ये एक भएको बताईएको छ। रिपोर्टका अनुसार करिब ३ अर्ब डलरको ‘स्टारशिप’ भेहिकल टेक्सासको बोका चिकामा रहेको स्पेसएक्सको साइटबाट अप्रिल १० मा उड्न सक्छ।

यदि साँच्चै यस्तै भएमा ‘स्टारसिप’ को प्रक्षेपण परीक्षणका लागि ५ दिन मात्रै बाँकी छ र एक दिन मानिस स्टारशिप रकेटबाट मात्रै मंगल ग्रहमा पुग्ने विश्वास गरिन्छ।

डेली मेलले अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) लाई उद्धृत गर्दै रिपोर्ट गरेअनुसार आउँदो सोमबार, अप्रिल १० मा, स्टारशिप रकेटले टेक्सासको बोका चिकामा स्पेसएक्सको साइटबाट उडान भर्नेछ। यद्यपि इलन मस्कको कम्पनीले अहिलेसम्म यसको प्रक्षेपण लाइसेन्स पाएको छैन।

नियामकले सोमबारसम्म लाइसेन्स दिन सक्ने रिपोर्टमा उल्लेख छ। इलन मस्कले पहिले नै प्रक्षेपणको समयमा स्टारशिप विस्फोटको ५० प्रतिशत सम्भावना भएको भनेका छन्। उनले प्रक्षेपणको बारेमा भने, ‘बोरिंग हुने छैन।’

यदि स्पेसएक्स आफ्नो प्रक्षेपणमा सफल भयो भने भविष्यमा यो रकेटको सहयोगमा मानव र आवश्यक उपकरणहरू चन्द्रमा र मंगल ग्रहमा लैजान सकिन्छ। यदि यसो भयो भने मानिस पृथ्वीमा मात्र सीमित नभई बहुग्रहीय प्रजाति बन्नेछ। एफएएकाअनुसार, स्टारसिपको कक्षीय प्रक्षेपणको लागी प्राथमिक अनुमानित मिति अप्रिल १० हो भने अप्रिल ११ र १२ को ब्याकअप मितिहरु रहेका छन्।

सोमबार प्रक्षेपणसँग सम्बन्धित जानकारी रोयटर्समार्फत आएको हो।जानकारी साझा गर्ने व्यक्तिले नाम नखुलाउन आग्रह गरेका छन्। मस्कले विगतमा  प्रक्षेपण अप्रिलको तेस्रो हप्तामा हुने भनेका थिए, तर हालैका रिपोर्टहरूले दाबी गरिरहेका छन् कि स्टारशिप रकेटले त्यो भन्दा पहिले नै उडान भर्न सक्छ।

मिडिया रिपोर्टहरूमा स्पेसएक्सले यसबारे केही नबोलेको बताइएको छ।

यसैबीच मस्कले ट्विटरमा स्टारसिपको एक भिडियो शेयर गर्दै लन्चको तयारी भईरहेको बताएका छन्। तर उनले पनि यसको लन्चिङ्ग मिति भने बताएका छैनन्।

स्टारशिप पुन: प्रयोगयोग्य रकेट

रिपोर्टका अनुसार स्टारशिप पुन: प्रयोग गर्न सकिने रकेट हो। यो मुख्यतया दुई भागहरु मिलेर बनेको छ। पहिलो यात्रु बोक्ने खण्ड हो, जहाँ यात्रुहरू बस्नेछन्, जबकि दोस्रो सुपर हेभी रकेट बूस्टर हो। स्टारशिप र बूस्टर सहित, यसको लम्बाइ ३९४ फिट (१२० मिटर) छ। जबकि तौल ५० लाख किलो छ।

जानकारी अनुसार, स्टारशिप रकेटले १६ मिलियन पाउन्ड (७० मेगान्यूटन) थ्रस्ट उत्पादन गर्न सक्षम छ। यो नासाको स्पेस लन्च सिस्टम (एसएलएस) रकेट भन्दा झन्डै दोब्बर उच्च छ।

कसरी रकेट परीक्षण हुनेछ

स्पेसएक्सले लामो समयदेखि ‘स्टारशिप’ को प्रोटोटाइप परीक्षण गरिरहेको छ। स्टारशिप रकेटको पूर्ण कक्षीय परीक्षण उडान हुन बाँकी छ। मस्क र स्पेसएक्सले यो २०२२ सम्म गर्ने लक्ष्य राखेका थिए, जुन ढिलाइ भएको छ।

यदि १० अप्रिलमा परीक्षण उडान सुरु भयो भने यस्तो किसिमले हुनेछ। ‘सुपर हेभी बूस्टर’ लन्च भएको केही समयपछि स्टारशिपबाट अलग हुनेछ। यो प्रक्षेपण स्थलबाट २० माईल टाढा समुद्रमा निर्मित आधारमा अवतरण हुनेछ। एकै समयमा, स्टारशिप रकेटको उडान जारी रहनेछ। लगभग ९० मिनेटको अन्तरिक्ष उडान हवाई टापुको काउईबाट ६० माइल उत्तरपश्चिममा प्रशान्त महासागरमा अवतरण गर्नेछ।

यदि प्रक्षेपण सफल भयो भने, स्टारशिप मात्र एउटा रकेट हुनेछैन। कम्पनीले यस्ता धेरै रकेट बनाउने योजनामा ​​काम गरिरहेको छ।

प्रकाशित: २४ चैत्र २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...