स्टार्टअप उद्यमबारे जानकारी लिन चासो बढ्दै

  • Technology Khabar | २१ चैत्र २०७९, मंगलवार
स्टार्टअप उद्यमबारे जानकारी लिन चासो बढ्दै

काठमाडौं ।

स्टार्टअप उद्यम व्यवसाय सञ्चालन गर्ने विषयमा जानकारी लिन उद्योग विभागमा उद्योगी व्यवसायीको चहलपहल बढेको छ। उद्योग विभागले गत बिहीबारदेखि स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेस गर्न सार्वजनिक सूचना गरेपछि चासो लिनेहरूको चहलपहल बढेको हो।

विभागमा दिनमा एक सयदेखि दुई सय जनासम्म स्टार्टअपका बारे बुझ्न आउने गरेको जनाएको छ। विभागका सूचना अधिकारी रमिला भण्डारीले स्टार्टअप नयाँ व्यवसाय भएकाले पनि धेरै नै बुझ्न आउने गरेको बताए।

सोमबारसम्म १० ओटा कम्पनीले आवेदन दर्ता भएको विभागले जनाएको छ। स्टार्टअप व्यवसाय गर्न दर्ता भएका फाइबर, मानव संस्थानसँग सम्बन्धित, पर्यटन तथा मदिरा उद्योग, औषधि, खुद्रा व्यवसाय, कम्प्युटर सफ्टवेर, निर्माण सामग्री इन्टरनेट र विद्युत् खाद्य सामग्रीका उद्योग रहेका छन् । परियोजना प्रस्ताव पेस गर्ने समय २१ दिनको राखिएको छ।

परियोजना प्रस्ताव पेसको समय अवधि सकिएपछि एक महिनामा स्टार्टअप उद्यम कार्यक्रम सञ्चालन, छनोट र प्रवद्र्धन उद्योग विभागले गर्नेछ। स्टार्टअप उद्यम कर्जा कोष कार्यविधि, २०७९ का अनुसार स्टार्टअप उद्यम गर्नेले तीन प्रतिशत ब्याजमा बढीमा २५ लाख रुपियाँसम्म कर्जा पाउनेछन्। साझेदारीमा रहेको उद्यमका लागि यस्तो कर्जा सात वर्षसम्मका लागि पाइनेछ।

के हो स्टार्टअप ?

उद्यमशील समूहले वस्तु, सेवा र प्रक्रियाको विकास, उत्पादन, सञ्चालन र वितरणमा नवीन अन्वेषण र सिर्जनशील सोचको प्रयोग गरी व्यावसायिक रूपमा सञ्चालन भई स्तरोन्नतिको सम्भावना रहेको उद्यम वा व्यवसायलाई स्टार्टअप उद्यमलाई जनाउँछ ।

स्टार्टअप उद्यमको क्षेत्रमा कृषि तथा पशुपन्छी, वन (जडीबुटी, वन पैदावार), पर्यटन, प्रवद्र्धन तथा मनोरञ्जन र अतिथि सत्कार, विज्ञान, प्रविधि, सञ्चार तथा सूचना प्रविधि, मानव स्वास्थ्य सेवासँग सम्बन्धित उद्योग–व्यवसाय गर्नेले स्टार्टअप ऋण पाउने कार्यविधिमा उल्लेख छ । शिक्षा तथा शिक्षण सिकाइ, सहज र सुरक्षित यातायात तथा पारवहन सेवा, पूर्वाधार निर्माण कार्य, अटोमोबाइल्स, परम्परागत प्रविधि, उत्पादन र सेवाप्रवाहको प्रक्रिया सुधार, खानी तथा खनिज अनुसन्धान र विकाससँग सम्बन्धित, घरायसी वा दैनिक जीवनयापनलाई सरल, सहज, सुरक्षित बनाउन सहयोग पुग्ने, खाद्य उत्पादन तथा प्रशोधन र फोहोरमैला व्यवस्थापन तथा वातावरण उद्यान सञ्चालन गर्ने उद्यमीले पनि ऋण पाउने कार्यविधिमा उल्लेख छ।

स्टार्टअप उद्यम वा व्यवसाय स्थापना भएको सात वर्ष ननाघेकालाई स्टार्टअप कर्जा दिइने कार्यविधिमा उल्लेख छ।

यस्तो ऋण पाउन चुक्ता पुँजी ५० लाख रुपियाँभन्दा बढी नभएको, उद्यमको वार्षिक कुल आय ५० लाख रुपियाँभन्दा बढी नभएको, स्थिर पुँजी (घरजग्गाको मूल्यबाहेक) दुई करोड रुपियाँभन्दा बढी नभएको र उद्यममा पूर्णकालीन कामदारको सङ्ख्या दस जनाभन्दा बढी नभएको हुनुपर्ने कार्यविधिमा उल्लेख छ। नेपाल राष्ट्र बैङ्कले कार्यविधिबमोजिम कर्जा प्रवाह गर्ने बैङ्क तोक्नेछ।

उद्यमीलाई दुई किस्तामा कर्जा प्रवाह गर्नुपर्नेछ। पहिलो किस्ताबापत स्वीकृत कर्जा रकमको पचास प्रतिशत रकम प्रवाह गर्नुपर्ने कार्यविधिमा उल्लेख छ। कार्यविधिअनुसार बैङ्कले कर्जा प्रवाह गर्दा स्वीकृत परियोजनालाई नै धितोको रूपमा राख्ने छ। कर्जा प्रवाह गर्नुअघि बैङ्कले कर्जा प्राप्त गर्ने तरिका, कर्जाको सीमा, किस्ता बुझाउनुपर्ने अवधि, कर्जा चुक्ताका लागि सावाँ फिर्ता र ब्याज भुक्तानी अवधि तथा प्रक्रियासमेत उल्लेख गरी सिफारिस गरेको मितिले तीन दिनभित्र सम्झौता गर्नुपर्नेछ।

प्रकाशित: २१ चैत्र २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार