‘ह्वाट्सएप’बाट ठगी, गुम्यो दुई लाख रुपैयाँ

  • Technology Khabar | १० चैत्र २०७९, शुक्रबार
‘ह्वाट्सएप’बाट ठगी, गुम्यो दुई लाख रुपैयाँ

काठमाडौं ।

सूचना प्रविधिको पहुँच गाउँगाउँसम्म पुगेसँगै ठगी गर्ने प्रकृति पनि फेरिएका छन्। मोरङको पथरीशनिश्चरे–३, सुन्दरी चोककी २९ वर्षीय माङ्माया लिम्बू नयाँ प्रकृतिको ठगीमा परिन्।

उनी अहिले कानुनी उपचार खोजिरहेकी छन्। ‘९८२८९७८३०६’ को नम्बरको मोबाइलबाट ह्वाट्सएपमार्फत माङ्मायासँग कुराकानी सुरु भयो। माङ्मायाका श्रीमान् मलेसिया गएको पाँच वर्ष भयो। श्रीमानसँग उति साह्रो फोन सम्पर्क पनि हुँदैनथ्यो।

त्यसैबेला ह्वाट्सएपमार्फत अमेरिकामा बसेको केटाले प्रेम प्रस्ताव राखेपछि उनको मनमा अनेक कुरा खेल्न थाले। अमेरिका बस्न पाउने सुन्दर सपना देख्दै रमाईन्।

माङ्मायाले भनिन्, “ह्वाट्सएपमा भिडियो कल गरेर तिमीलाई पठाउन लागेको सुनको सिक्री, नेकलेस र घडी पार्सल गर्दैछु,” भन्यो। मक्ख परेकी माङ्माया आफ्नो उज्ज्वल भविष्यको कल्पना गर्दै सिक्री, नेकलेस, मोबाइल र घडी कुरेर बसिन्। केही दिनमै अमेरिकाको एयरपोर्टमा सामान भन्सारले रोक्यो। सामान छुटाउन म भन्सार आएको छु। यसका लागि पैसा पठाउ भनेर फेरि भिडियो कल आयो।

जसले सामान रोकेको हो, उसैका नाममा पैसा पठाउन अनुरोध गर्यो। हो न हो माङ्माया पनि जसले सामान रोकेको हो उसैलाई पैसा पठाएपछि सामान छोडिदिन्छ होला भन्ने भ्रममा परिन्। उनले आईएमईमार्फत पैसा पठाउन थालिन्।

उसले आफ्नो नाममा पैसा पठाउनु भनेन। हरेक पटक पैसा पठाउँदा उसले बेग्ला बेग्लै बैङ्क र खातामा फरकफरक कामका लागि भनेर पैसा माग्यो। जसले गर्दा माङ्माया विश्वासमा परिन्। उनी भन्छिन, “उसले आफ्नो नाम रवि शर्मा भन्थ्यो। मैले रवि शर्माको नाममा कहिल्यै पैसा पठाइन।”

माङ्मायाले विभिन्न बहानामा हालसम्म दुई लाख रुपियाँ पठाइसकेकि छन् छ। उनकी दिदी दिलु लिम्बूले भनिन्, “बहिनीले चार आना सुन बिक्री गरेर र दुई तोला सुन धरौटी राखेर एक लाख ७५ हजार रुपियाँ पठाइछ। अरू आफैँसँग भएको २५ हजार पनि सुरुमै पठाएको रहेछ।”

सुरुका दिनमा कसैलाई नभनी सुटुक्क पैसा पठाएकी माङ्मायाले १५ दिनको बीचमा दुई लाख पठाएपछि रविले फोन गर्न र फोन उठाउन पनि छोडेपछि झस्किन। त्यसपछि मात्र आफू ठगिएको थाहा पाएर हारगुहार गरिन्।

इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले साइबर अपराधका घटनासँग आफैँ जोगिनुपर्ने बताईन्। यस्ता अपराधको अनुसन्धान केन्द्रीय साइबर ब्युरोले हेर्ने भएकोले आएका उजुरीलाई माथिल्लो निकायमा पठाउने काम मात्र इलाका प्रहरी कार्यालयले गर्ने उनको भनाइ छ। गोरखापत्रबाट

प्रकाशित: १० चैत्र २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार