
काठमाडौं ।
अनलाइनमार्फत १५ लाख २० हजार रुपियाँ ठगी गरेको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका–१ की ३६ वर्षीया अन्जली बिसुन्के रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका प्रवक्ता सोमेन्द्र सिंह राठौरले जानकारी दिए।
अन्जलीले पीडितलाई सामाजिक सञ्जाल टिकटकमार्फत साथी बनाई आफूलाई इंगल्याण्डको नागरिक बताएको र नेपाल आएपछि विवाह गरी इंगल्याण्ड लैजाने प्रलोभन देखाएको प्रहरीले जनाएको छ। साथै जुत्ता, ब्याग, आइफोन, सुनका गरगहनाहरू र ७० हजार अमेरिकी डलर समेतको गिफ्ट पठाइदिने र यसका लागि कुरियरबाट सम्पर्क हुन्छ भनेर फोटो भिडियोसमेत पठाएर पीडितलाई विश्वास दिलाएको अनुसन्धानबाट देखिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले जनाएको छ।
त्यस्तै, कुरियर कार्यालयबाट पार्सल पाउनका लागि एन्टी मनी लन्डरिङ सर्टिफिकेट डेलिभरी चार्ज, भन्सार शुल्क, इन्सुरेन्स चार्ज, क्लिरियन्स चार्ज जस्ता प्रयोजनमा रकम तिर्नुपर्छ। र, पीडितलाई विभिन्न व्यक्तिको नाममा रहेको बैंक खातामा पटकपटक गरी उक्त रकम पठाउन लगाई ठगी गरेको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले अन्जलीलाई पक्राउ गरेको हो।
अन्जलीलाई ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको छ।
प्रकाशित: १ चैत्र २०७९, बुधबार