
काठमाडौं ।
नेपाल टेलिकमको सेवा अवरुद्ध भएको बारेमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गठन गरेको छानबिन समितिले दिएको प्रतिवेदनको आधारमा मन्त्रालयले टेलिकमका कर्मचारीहरुलाई कारबाही गर्न पत्र पठाएको छ।
२०७९ माघ ३ गते मंगलबार दिउँसो करिब १२ बजे सरकारी टेलिकम कम्पनी नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को विभिन्न सेवाहरु ठप्प भएका थिए। र सोही बारेमा मन्त्रालयले छानबिन समिति गठन गरेको थियो।
गत साता नै टेलिकमको मुख्यालयमा मन्त्रालयले उक्त छानबिन प्रतिवेदन उल्लेख गर्दै जिम्मेबार कर्मचारीहरुलाई कारबाही गर्न निर्देशन दिएको हो।
तर उक्त पत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक (एमडी) सुनिल पौडेलसहित उच्च अधिकारीहरुलाई बचाउने गरी कारबाहीको निर्देशन दिईएको भन्दै टेलिकम कर्मचारीहरुले आक्रोश व्यक्त गरेका छन्।
उक्त निर्देशन पत्रमा मन्त्रालयले सो घटनामा जिम्मेबार भएका भन्दै डिएमडी तथा त्यसभन्दा तलका कर्मचारीहरुलाई कारबाही गर्न भनिएको टेलिकम स्रोतले जानकारी दिएको छ।
उक्त पत्रमा क-कसलाई कारबाही गर्ने भनेर नाम नतोके पनि डीएमडीलगायतलाई कारबाही गर्न भनिएको स्रोतले दाबी गरेको छ।
‘मन्त्रालयले कारबाही गर्न भनेर पत्र पठाएको छ। गत साता नै आएको पत्रमा नाम भने कसैको तोकिएको छैन्,’ सो पत्र आएको बारेमा जानकार स्रोतले पुष्टि गर्दै टेक्नोलोजीखबरलाई भन्यो।
यसअघि मन्त्रालयले सहसचिव गौरव गिरीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो। उक्त समितिमा नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक बिजय कुमार राय, नेपाल टेलिकमकै चिफ अपरेशन अफिसर झबिन्द्र लाल उपाध्याय, विज्ञको रुपमा टेलिकमकै पूर्व कर्मचारी लोचन लाल अमात्य सदस्य थिए भने मन्त्रालयका संस्थान समन्वय शाखाका उपसचिव सुरेन्द्र थापा सदस्य सचिवको रुपमा रहेका थिए।
उक्त छानबिन प्रतिवेदनले टेलिकमको उच्च व्यवस्थापन पदाधिकारीहरुको कमजोरी देखिएको र उनीहरुलाई जिम्मेबार बनाउनुपर्ने औंल्याएको थियो। यसमा उनीहरु जिम्मेबार र संवेदनशिल नभएको समेत उल्लेख छ।
उक्त प्रतिवेदनको विषयमा टेक्नोलोजीखबरले समाचार समेत प्रकाशित गरिसकेको छ।
हेर्नुस् सम्बन्धित समाचार-
उक्त प्रतिवेदनलाई आधार मान्दै मन्त्रालयले टेलिकममा पत्र पठाएर डिएमडी तथा त्यस भन्दा तलका कर्मचारीहरुलाई मात्र कारबाही गर्न भनेको टेलिकमसबद्ध अर्को स्रोतको दाबी छ।
साथै उक्त छानबिन प्रतिवेदनलाई टेलिकमको बोर्डमा छलफलमा नल्याईएको र सिधै कारबाही गर्न पत्र पठाईएको भन्दै त्यसले थप शंका उब्जाएको बताईएको छ।
‘यसले एमडी र उच्च व्यवस्थापनसहित आफ्नालाई सिधै बचाउने र अरु कर्मचारीहरुलाई मात्र कारबाही गर्ने नियत देखियो,’ स्रोतले भन्यो।
टेलिकमको बोर्डमा सञ्चार सचिव नै अध्यक्ष भएको र सरकारकै कम्पनी भएको अवस्थामा बोर्डमा प्रतिवेदन ल्याएर त्यहाँबाट टेलिकममा जानुपर्नेमा सिधै आफ्नालाई बचाउने अन्यलाई कारबाही गर्ने नियतले बोर्डमा प्रतिवेदन समेत नल्याईएको स्रोतले उल्लेख गरेको छ।
यसरी एमडी पौडेल र प्रमुखहरुलाई कारबाहीबाट बचाउनमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालको चाहना र प्रयास रहेको टेलिकम स्रोतले दाबी गरेको छ।
टेलिकमको बोर्ड अध्यक्ष नै सञ्चार सचिव हुने र छानबिन पनि सञ्चार मन्त्रालयले नै गठन गरेको समितिबाट भएको भन्दै हचुवामा कारबाहीको पत्र पठाईएकोमा कर्मचारीहरुले विरोध गरेका थिए।
डीएमडीहरुलाई आक्षेप आएसँगै र टेलिकमका कर्मचारीहरुबाट समेत तिब्र विरोध भएसँगै सचिव अर्यालले यो मुद्दालाई सामसुम पार्ने प्रयाससमेत गरेको दाबी छ।
उनले यसको लागि गत साता नै काठमाडौंको गैह्रीधारामा रहेको एलिस रेष्टुरेन्टमा भेला डाकेर कर्मचारीहरुलाई थामथुम पार्ने प्रयास गरेको स्रोतले बताएको छ।
उक्त छलफलमा डीएमडी तहका सबै टेलिकम कर्मचारीहरुलाई अनिवार्य उपस्थिति गराईएको र त्यसमा टेलिकममा रहेका विभिन्न कर्मचारीहरुका युनियन पदाधिकारीहरुलाई समेत साक्षी राखिएको थियो।
सञ्चार सचिव अर्यालले उक्त बैठकमा एमडी पौडेलसहित व्यवस्थापनको पक्ष लिँदै उनीहरुलाई बचाउ गरेर डीएमडीहरुलाई आक्षेप लगाएको एक सहभागीले टेक्नोलोजीखबरलाई बताए।
‘उक्त बैठकमा सचिव ज्यूले एमडीसहित व्यवस्थापनको बचाउ गर्नुभयो। तर कुनैपनि डीएमडीले उहाँको कुरा काटेर कारबाहीको विरोध गरेनन्,’ स्रोतले दाबी गर्यो।
उक्त बैठकमा युनियनका पदाधिकारीहरुलाई समेत अनिवार्य उपस्थिती हुन भनिएको थियो भने कारबाही र उक्त बैठकको विषयहरु बाहिर नल्याउन उर्दीसमेत दिईएको स्रोतले भनेको छ।
‘सो बैठकमा डीएमडीहरु मध्येबाट कसैले नबोलेपछि, त्यसैले कर्मचारी युनियनका पदाधिकारीहरुले समेत सचिव ज्यूको कुराको विरोध गर्ने कुरै भएन,’ स्रोतले टेक्नोलोजीखबरलाई भन्यो।
यसअघि सचिव अर्यालले छानबिन समिति गठन भएसँगै समितिका सदस्यहरुलाई बोलाएर जानकारी लिने नाममा घुमाउरो तरिकाले टेलिकमका एमडी र उच्च व्यवस्थापनको विरुद्ध कडा कारबाहीको विषय नराख्न समेत भनेको दाबी गरिएको छ।
प्रकाशित: २६ फाल्गुन २०७९, शुक्रबार