इन्टरनेट सेवा बन्द गर्नेमा छिमेकी देश भारत शीर्ष स्थानमा

  • Technology Khabar | १८ फाल्गुन २०७९, बिहीबार
इन्टरनेट सेवा बन्द गर्नेमा छिमेकी देश भारत शीर्ष स्थानमा

काठमाडौं ।

इन्टरनेट बन्द हुनेमा छिमेकी देश भारत विश्वमा पहिलो स्थानमा रहेको छ। भारत लगातार पाँचौं वर्ष शीर्ष स्थानमा रहेको छ। गत वर्ष, विश्वभर १८७ इन्टरनेट बन्द गरिएका मध्ये, ८४ पटक भारतमा भयो। भारतको जम्मु कश्मीरमा सबैभन्दा बढी ४९ पटक इन्टरनेट बन्द भएको रिपोर्टमा उल्लेख गरिएको छ।

“राजनीतिक अस्थिरता र हिंसाका कारण जम्मू कश्मीरका अधिकारीहरूले कम्तिमा ४९ वटा इन्टरनेट बन्द गरेको रिपोर्ट गरिएको छ,” डिजिटल अधिकार समूह एक्सेस नाउले रिपोर्टमा भनेको छ। करिब चार वर्षअघि भारतीय जनता पार्टीको नेतृत्वमा रहेको केन्द्रीय सरकारले जम्मु–कश्मीरको स्वायत्तता खारेज गरी दुई केन्द्र शासित क्षेत्रमा विभाजन गरेको थियो। त्यसयता सुरक्षा सम्बन्धी कारणले जम्मू कश्मीरमा धेरै पटक सञ्चार प्रतिबन्ध लगाइएको छ। कतिपय संघसंस्थाले यसको विरोध पनि गर्दै आएका छन् र यसलाई आन्दोलनलाई दबाउन खोज्ने तरिका भनेका छन्।

त्यसैगरी गत वर्ष इन्टरनेट बन्द हुनेमा युक्रेन दोस्रो स्थानमा थियो। गत वर्ष फेब्रुअरी २४ मा रुसले आक्रमण गरेपछि युक्रेनमा कम्तिमा २२ पटक इन्टरनेट बन्द गरिएको छ। “रुसले युक्रेनमा आक्रमण गर्दा, रुसी सेनाले इन्टरनेट पहुँच काटेको छ, साइबर आक्रमण गरेको छ र कम्तिमा २२ पटक जानाजानी दूरसञ्चार पूर्वाधारमा क्षति पुर्याएको छ,” रिपोर्टमा भनिएको छ।

गत वर्ष इन्टरनेट बन्द गर्नेमा इरान तेस्रो थियो। गत वर्ष इरानमा सरकार विरोधी प्रदर्शनलाई नियन्त्रण गर्न १८ पटक इन्टरनेट सेवा बन्द गरिएको थियो। प्रहरी हिरासतमा महसा अमिनीको मृत्यु भएपछि इरानमा गत सेप्टेम्बर १६ मा सरकार विरोधी चर्को प्रदर्शन सुरु भएको थियो। महसालाई इरानको राजधानी तेहरानमा प्रहरीले हिजाबसम्बन्धी नियम उल्लंघन गरेको आरोपमा पक्राउ गरेको थियो। इरानमा महिलालाई हिजाब लगाउन कडा नियम छ। महसाको प्रहरी हिरासतमा मृत्यु भएपछि जनता आक्रोशित भएका छन् । यसपछि ठूलो सरकार विरोधी प्रदर्शन भएको थियो। त्यसैलाई दबाउन सरकारले इरान भर इन्टरनेट सेवा बन्द गरेको थियो।

यसैगरी रिपोर्टअनुसार दक्षिण एशियाली मुलुकहरु बंगलादेश पाकिस्तान र श्रीलंकामा पनि सन् २०२२मा पटक पटक इन्टरनेट बन्द गरिएको थियो।

प्रकाशित: १८ फाल्गुन २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार