दूरसञ्चार प्राधिकरणको कानुन सदस्यका लागि मागियो दरखास्त, यस्तो छ योग्यता

  • Technology Khabar | १७ फाल्गुन २०७९, बुधबार
दूरसञ्चार प्राधिकरणको कानुन सदस्यका लागि मागियो दरखास्त, यस्तो छ योग्यता

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणको कानुन सदस्य पदमा नियुक्तिका लागि सरकारले आवेदन खुलाएको छ। १५ दिने म्यादसहित सरकारले इच्छुकहरुका लागि दरखास्त आवेदन माग गरेको हो।

यसअघि मन्त्रिपरिषदले कानुन सदस्य नियुक्तिका लागि सञ्चार मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालको संयोजकत्वमा सिफारिस समिति गठन गरेसँगै उक्त समितिले दरखास्त माग गरेको हो।

सूचनामा तोकिएको योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त पेस गर्न भनिएको छ।

सूचनाअनुसार दरखास्त पेस गर्ने अन्तिम दिनसम्म उमेर ३० बर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ भने मान्यता प्राप्त शिक्षण संस्थाबाट कानुन विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा ७ (सात) बर्षको अनुभब प्राप्त गरेको हुनुपर्नेछ।

तर सरकारी सेवा वा सार्वजनिक संस्थान प्राधिकरण बोर्ड समिति, आयोग प्रतिष्ठान वा पब्लिक लिमिटेड कम्पनीको कर्मचारीको हकमा कानुन विषयमा स्नातक गरी राजपत्राङ्कित प्रथम श्रेणी, दशौं तह वा सो भन्दा माथिल्लो पदमा कम्तीमा ७ (सात) वर्ष काम गरेको अनुभव प्राप्त गरेको हुनुपर्ने योग्यता राखिएको छ।।

उपरोक्त योग्यता पुगेका इन्छुक व्यक्तिले नियुक्ति हुन चाहेको ब्यहोरा खुल्ने दरखास्त, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, योग्यता समेत खुल्ने व्यक्तिगत विवरण, शैक्षिक योग्यताका प्रमाणपत्रको प्रतिलिपिलगायतका कागजातसहित सञ्चार तथा सूचना प्रविधि मन्त्रालय समक्ष दरख्वास्त पेस गर्नुपर्नेछ ।

यसका साथै नेपाली वा अङ्ग्रेजी भाषामा ए फोर साइजको कागजमा तयार गरिएको बढीमा ५००० शब्दको सिलबन्दी ब्याबसायिक कार्य योजना र स्वघोषणालगायतका बिबरणहरु समेत बुझाउनुपर्नेछ।

इच्छुक आवेदकले सूचना प्रकाशित भएको मितिले पन्ध्रौं दिनभित्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको संस्थान समन्बय शाखामा दरखास्त दिन भनिएको छ।

उम्मेदवारले पेस गरेको व्यावसायिक कार्य योजना सोको प्रस्तुति र अन्तर्वार्ताको मूल्याङ्कनका आधारमा नियुक्तिका लागि सिफारिस गरिने सूचनामा उल्लेख छ ।

दरखास्तका साथ उम्मेदबारले आफ्नो योग्यता सम्बन्धी स्वघोषणा पेस गर्नुपर्ने जनाईएको छ।

हेर्नुस् सूचना-

प्रकाशित: १७ फाल्गुन २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार