आफैंले मर्मत गर्न सकिने नोकिया जी२२ स्मार्टफोन सार्वजनिक, यस्तो छ विशेषता

Technology Khabar १५ फाल्गुन २०७९, सोमबार

आफैंले मर्मत गर्न सकिने नोकिया जी२२ स्मार्टफोन सार्वजनिक, यस्तो छ विशेषता

काठमाडौं ।

स्पेनमा चलिरहेको मोबाइल वर्ल्ड कंग्रेसमार्फत एचएमड ग्लोबलले नोकिया ब्रान्डको यस्तो अद्वितीय स्मार्टफोन सार्वजनिक गरेको छ, जुन मोबाइल प्रयोगकर्ताहरूले आफैं मर्मत गर्न सक्छन्। यो फोन नोकिया जी २२ नामको साथ बजारमा आएको छ जुन शत प्रतिशत रिसाइकल प्लास्टिक ब्याक कभरबाट बनेको छ। यस फोनको डिस्प्ले, चार्जिङ पोर्ट, ब्याट्री र प्यानल घरमै बसेर मर्मत गर्न सकिन्छ र यसका लागि कम्पनीले आईफिक्सिट किट पनि सपोर्ट गरिरहेको छ।

सामान्यतया फोनमा गडबडी देखिएमा मानिसहरुले सर्भिस सेन्टरमा लैजान्छन् वा त्यसलाई छाडेर नयाँ फोन किन्ने गर्छन्। तर नोकिया जी२२ यस्तो मोबाइल हो जसले तपाईलाई लामो समयसम्म साथ दिन सक्नेछ। यो फोनका प्रयोगकर्ताहरूले यसलाई खोलेर आफैं मर्मत गर्न सक्ने गरी डिजाइन गरिएको छ। एचएमडी ग्लोबलले यो फोनको लागि आईफिक्सिटसँग साझेदारी गरेको छ।

नोकिया जी२२ फिनिश निर्माताद्वारा विकसित, ६.५-इन्च स्क्रिन र ५० मेगापिक्सेल मुख्य क्यामरा भएको एक स्ट्याण्डर्ड स्मार्टफोन हो।

तर यो फोनको बाहिरी शेल र भित्री भागले यसलाई विशेष बनाउँछ। ह्यान्डसेटमा रिसाइकल गर्न मिल्ने प्लाष्टिक ब्याक समावेश छ जुन बिग्रिएका कम्पोनेन्टहरू स्वाप गर्न सजिलै हटाउन सकिन्छ। हार्डवेयर मर्मत एड्भोकेसी फर्म आईफिक्सिटका उपकरण र मर्मत गाइडहरूका साथ प्रयोगकर्ताले फोनको पछाडि कभर, ब्याट्री, स्क्रिन र चार्जिङ पोर्ट हटाउन र प्रतिस्थापन गर्न सक्छन।

एचएमडी ग्लोबलका प्रोडक्ट मार्केटिङका प्रमुख एडम फर्ग्युसनले पुरानो फोनलाई नयाँसँग बदल्नुभन्दा यो प्रक्रियामा औसत ३०% कम खर्च हुने बताए।

पछिल्लो समय विश्वभर उपभोक्तालाई फोन मर्मतको अधिकार दिनुपर्ने माग समेत उठिरहेको छ। मर्मतको अधिकार भन्नाले उपभोक्ताहरूलाई आफ्ना ग्याजेटहरू मर्मत गर्न सजिलो बनाउन उपभोक्ता अधिकार अभियानकर्ताहरू बीचको आन्दोलनलाई जनाउँछ।

तर नोकिया जी२२ सँग एउटा कमजोरी छ- यसले हानिकारक पदार्थहरू विरुद्ध प्रतिरोधमा आईपी५२ बेन्चमार्क मात्र पूरा गर्दछ, यसको अर्थ यो पानीको क्षतिबाट सुरक्षित हुनेछैन।

कुनै पनि मोबाइल प्रयोगकर्ताले यसको ब्याक प्यानल खोलेर मात्र ५ मिनेटमा ब्याट्री परिवर्तन गर्न सक्ने कम्पनीको दाबी छ। त्यस्तै, फोनको डिस्प्ले २० मिनेट भित्र परिवर्तन गर्न सकिन्छ। यो फोनसँगै कम्पनीले मोबाइल फोन मर्मत गर्ने उपकरण र मर्मत गर्ने प्रयोगकर्ता पुस्तिका पनि उपलब्ध गराउने भएको छ।

नोकिया जी२२ लाई २०:९ आस्पेक्ट अनुपातमा प्रस्तुत गरिएको छ जसले ७२० x १२०० पिक्सेल रिजोल्युसनको साथ ६.५२ इन्च एचडी प्लस डिस्प्ले समर्थन गर्दछ। वाटरड्रप नच स्टाइल भएको यो फोनको स्क्रिनले ९० हर्ट्ज रिफ्रेस रेटमा काम गर्छ र ५०० निट्स ब्राइटनेस सपोर्ट गर्छ। यो डिस्प्ले कोर्निङ गोरिल्ला ग्लास ३ द्वारा सुरक्षित गरिएको छ।

यो फोनले फोटोग्राफीका लागि ट्रिपल रियर क्यामरा सपोर्ट गर्छ। पछाडिको प्यानलमा एफ/१.८ एपर्चर भएको एलईडी फ्ल्यासको साथ ५० मेगापिक्सेल प्राथमिक सेन्सर प्रदान गरिएको छ, जसले एफ/२.४ एपर्चरको साथ २ मेगापिक्सेल म्याक्रो लेन्स र २ मेगापिक्सेल डेप्थ सेन्सरसँग संयोजनमा काम गर्दछ। त्यस्तै यस फोनमा सेल्फी र भिडियो कलिङका लागि एफ/२.२ एपर्चर भएको ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा छ।

नोकिया जी२२ एक फोरजी फोन हो जसले डुअल सिम समर्थन गर्दछ। पावर ब्याकअपको लागि, यो फोनमा २० वाट फास्ट चार्जिङ टेक्नोलोजीका साथ ५,०५० एमएएच ब्याट्री छ। साथै, सुरक्षाको लागि, यो स्मार्टफोनले साइड माउन्टेड फिंगरप्रिन्ट सेन्सरलाई समर्थन गर्दछ।

नोकिया जी२ दुई मेमोरी भेरियन्टमा प्रस्तुत गरिएको छ। फोनको आधार भेरियन्टमा ४ जीबी र्यामको साथ ६४ जीबीको आन्तरिक स्टोरेज छ र ठूलो भेरियन्टले ४ जीबी र्यामको साथ १२८ जीबी स्टोरेज समर्थन गर्दछ। यो फोनको मूल्य १७९ यूरोबाट सुरु हुन्छ। नोकियाको यो फोन मिटिओर ग्रे र लगून ब्लू कलरमा बजारमा ल्याएको छ।

Sajilo Visa

प्रकाशित: १५ फाल्गुन २०७९, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार