सबै सरकारी निकायका वेबसाइट एउटै ढाँचामा हुने, नयाँ टेम्प्लेट निर्माण अन्तिम चरणमा

  • Technology Khabar | १४ फाल्गुन २०७९, आईतवार
सबै सरकारी निकायका वेबसाइट एउटै ढाँचामा हुने, नयाँ टेम्प्लेट निर्माण अन्तिम चरणमा
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ।फाइल तस्बिर

काठमाडौं ।

नेपाल सरकारका विभिन्न निकायहरुले निर्माण गर्ने वेभपेजहरू एउटा स्टाण्डर्ड ढाँचामा निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ।

राष्टिय सूचना तथा प्रविधि केन्द्रले तयार गरेको टेम्प्लेटलाई पछिल्लो विकसित प्रविधि प्रयोग गर्दै उच्च सुरक्षायुक्त बनाउन र सम्बन्धित निकायहरूले आफू अनुकूल प्रयोगमा ल्याउन सकिने गरी नयाँ टेम्प्लेट निर्माणका गर्न प्रधानमन्त्री कार्यालयले अग्रसरता लिएपछि निर्माणको कार्य अन्तिम चरणमा पुगेको हो।

हाल सरकारी निकायहरूले कार्यालयपिच्छै निजी क्षेत्रको परामर्श सेवामार्फत वेभसाइट डिजाइन गर्ने गरेका छन् । यसरी कुनै निश्चित प्राविधिक तथा अन्य मापदण्डको पालना नगरी बाह्यश्रोतको परामर्श सेवा लिएर वेभसाइट बनाउँदा त्यसको गुणस्तरीयता तथा सुरक्षामा समेत समस्या देखिने क्रम बढेपछि प्रधानमन्त्री कार्यालयले चासो लिएको थियो।

अहिले निर्माण भएका कतिपय कार्यालयका वेभसाइटहरू पुरानो सोर्स कोड, प्रविधि तथा टेम्प्लेटहरू प्रयोग भइ निर्माण भएका कारण तिनीहरू साइबर सुरक्षाका दृष्टिले उच्च जोखिममा रहेको गुनासो जनस्तरमा देखिन्छ । अर्कोतर्फ लेआउट तथा प्रयोगका दृष्टिले समेत सहज र सरल बनाउन सूचना प्रविधि केन्द्रलाई नयाँ टेम्प्लेट बनाउन निर्देशन दिइएसँगै यस विषयमा गृहकार्य गर्न सूचना प्रविधि केन्द्र, प्रधानमन्त्री कार्यालयको सूचना प्रविधि शाखा र डेभलपर टिमसँग निरन्तर छलफलपछि नयाँ टेम्प्लेट परिमार्जन गरिएको हो।

एउटै स्टाण्डर्डको ढाँचामा वेभपेज निर्माणले भविष्यमा वेभपेजहरूको सुरक्षा निरीक्षण (सेक्युरिटी इन्सपेक्सन) तथा प्रणाली अपडेट गर्न समेत सहज हुने छ। साइबर सुरक्षामा देखिने जोखिमलाई एउटै प्रणालीबाट हल गर्न सकिने तथा वेभ डेभलपमेन्टको क्षेत्रमा विकास हुने नयाँ प्रविधिलाई समेत एउटै प्लेटफर्मबाट अपडेट गर्न सहज हुने छ।

नयाँ बन्ने टेम्प्लेटमा मास्टर हेडबाहेक अरु डिजाइनलाई सम्बन्धित कार्यालयहरूले सिस्टममा उपलब्ध डिजाइन (Drag & Drop Technology) प्रयोग गरी आफ्नो आवश्यकता अनुसार परिमार्जन गरी प्रयोगमा ल्याउन सक्नेछन् । हाल कार्यालयहरूले सरकारी बजेटमा निजी क्षेत्रको परामर्शमा वेभसाइट बनाउने परिपाटीले राज्यलाई आर्थिक भार समेत थपिँदै गएको छ।

हरेक निकायले वेभसाइट निर्माण गर्न प्रत्येक आर्थिक वर्षमा बजेट विनियोजन गर्ने परिपाटीले वेभसाइट निर्माणमा मात्रै ठूलो बजेट खर्च हुने गरेको छ । प्रधानमन्त्रीले हरेक क्षेत्रमा मितव्ययिता अपनाउन निर्देशन दिनुभए अनुरुप अहिलेको अभ्यासले राज्यको श्रोत अनावश्यक रूपमा खर्च हुने क्रम रोकिने, मितव्ययिता बढ्ने र प्राविधिक तथा प्रयोगका दृष्टिले समेत प्रभावकारी हुने देखिन्छ । त्यसैले स्टाण्डर्ड वेभपेजको ढाँचालाई सबै निकायले प्रयोग गर्नुपर्ने गरी तयारी अघि बढेको छ। प्रधानमन्त्री कार्यालय तथा सिंहदरबारका सबै कार्यालयबाट नयाँ टेम्प्लेट प्रयोगको कार्यलाई अघि बढाउँदै देशैभरीका सबै निकायमा प्रतिस्थापन गर्ने योजना रहेको छ।

पछिल्लो समयमा सरकारी वेभपेजहरूमा अनाधिकृत प्रवेश गरी आक्रमण गर्ने, ह्याक गर्ने क्रम बढ्दो रहेको छ । सरकारी सर्भर तथा वेभसाइटहरूको प्राविधिक सुरक्षा कमजोर भएको गुनासो समेत जनस्तरमा देखिन्छ । यसका लागि अहिलेको अभ्यासले वेभसाइटहरूलाई सुरक्षित बनाउन छ । साइबर सुरक्षाका बारेमा अध्ययन गर्न भने मन्त्रिपरिषद्ले उच्चस्तरीय समिति निर्माण गरिसकेको छ ।

उक्त समितिले साइबर सुरक्षामा देखिएको जोखिमको शुक्ष्म अध्ययन गरी सुधारका उपायहरू पत्ता लगाउने छ । साइबर सुरक्षासँग सम्बन्धित सबै पक्षका बारेमा यो समितिले अध्ययन सुरु गरेको छ भने एउटै स्टाण्डर्ड टेम्प्लेटको काम पनि केही दिनमा पूरा हुन्छ । यसबाट सरकारले प्रयोग गरिरहेका सबै डिजिटल प्लेटफर्महरू उच्चस्तरमा सम्पादन हुने, सेवा तथा सूचना प्रवाह प्रभावकारी हुने तथा सुरक्षित हुने विश्वास लिइएको छ ।

प्रकाशित: १४ फाल्गुन २०७९, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार

केयुमा ‘आइटी–मिट’को आयोजना

  • Technology Khabar
  • ९ पुष २०८२, बुधबार