
काठमाडौं ।
काठमाडौं महानगरपालिका वडा नं. १५ का सेवाग्राही राज्य रञ्जितको घर बाटो शिफारिस मोवाइलबाटै प्राप्त भएको छ। आज (बुधबार) रञ्जितले केएमसी एप प्रयोग गरेर शिफारिसका लागि निवेदनका साथै सेवा शुल्क तिरेका थिए। त्यसको केही समयपछि आफ्नै मोबाइलमा शिफारिस प्राप्त गरे।
महानगरको एकीकृत विद्युतीयशासन सम्बन्धी प्रणालीमा रञ्जितको विवरण प्राप्त भएपछि वडा सचिव शुशिल सुवेदीले रुजु गरेर डिजिटल सिग्नेचरबाट प्रमाणीकरण गरे। यसपछि विवरण वडाध्यक्ष ईश्वरमान डंगोलकोमा पुग्यो।
त्यसमा वडाध्यक्ष डंगोलले डिजिटल सिग्नेचरसहित प्रमाणीकरण गरेपछि प्रमाणा पत्र रञ्जितको मोबाइलमा गयो। यो प्रमाण पत्रप्राप्त गरेपछि रञ्जित महानगरको फेसलेस सेवाको लाभ प्राप्त गर्ने पहिलो लाभग्राही बनेका छन्।

यो प्रणालीमा ई-शिफारिस, दर्ता चलानी सेवा छन् । सेवाग्राहीले काठमाडौं महानगरपालिकाको मोवाइल एप्लिकेसन केएमसी एपबाट आफ्ना विवरण भरेपछि ती तथ्याङ्क तथा सूचना वडा सचिवकोमा पुग्छ। त्यहाँबाट प्रक्रिया शुरु हुन्छ। यसको प्रमाणीकरणका लागि वडा सचिवहरुलाई डिजिटल हस्ताक्षर टोकन दिइसकिएको छ।
एकीकृत विद्युतीयशासन प्रणालीका विकासकर्ता स्मार्ट पालिकाका निर्देशक मनोज भट्टराईकाअनुसार वडा तहबाट प्रवाह गर्नु पर्ने ८८ प्रकारका सेवामध्ये ४५ प्रकारका शिफारिस सेवालाई प्रणालीमा प्रविष्ट गराइ सकिएको छ। यसलाई वडाबाट आफैंले सेवा थप गर्न सकिने बनाइएको छ।
प्रकाशित: ३ फाल्गुन २०७९, बुधबार