
काठमाडौं ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले नयाँ व्यवस्थाबमोजिम सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालनको उद्घाटन गरेका छन्। सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७ बमोजिम परीक्षा सञ्चालनको मुख्यमन्त्री जमरकट्टेलले उद्घाटन गरेका हुन्।
साेमबार भक्तपुरकाे राधेराधेस्थित प्रयोगात्मक परीक्षा केन्द्रमा सम्बोधन गर्दै मुख्यमन्त्री जमरकट्टेलले परीक्षालाई जटिलताबाट सरलतातर्फ लगिएको जानकारी गराए। नयाँ निर्देशिकाले परीक्षार्थीका साथै परीक्षक कर्मचारीलाई पनि सजिलो र व्यावहारिक गराएको उनले बताए।
मुख्य मन्त्री जमरकट्टेलले जनतालाई कार्यालयले दिने सेवाको आधारमा सरकारप्रति धारणा बन्ने भएकाले जनतालाई अनावश्यक दुःख सास्ती नदिन यातायात व्यवस्था कार्यालयलाई निर्देशन दिए। आफूले अनुगमनको संयन्त्र बनाउने खुलासा गर्दै उनले राम्रो काम गर्नेलाई प्रोत्साहन र नराम्रो गर्नेलाई दण्डको व्यवस्था हुने चेतावनी दिए।
यसैबीच बागमती प्रदेश सरकारले आजदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिन ७० अङ्क ल्याए ट्रायल परीक्षा उत्तीर्ण हुने व्यवस्था लागू गरेको छ ।
गत पुस २० गतेबाट लागू हुने तयारीमा रहेको ७० अङ्क ल्याए ट्रायल पास हुने प्रणाली कार्यान्वयन नगर्न मुख्यमन्त्री कार्यालयले यातायात मन्त्रालयलाई पत्राचार गरेर रोक लगाएको थियो। यसअघि असोज २ गते र मङ्सिर १८ गतेदेखि उक्त प्रणाली लागू गर्ने भनिएपछि तत्कालिन मुख्यमन्त्री राजेन्द्र पाण्डेकै निर्देशनमा रोकिएको थियो ।
दुई तथा चारपाङ्ग्रे सवारी साधनको प्रयोगात्मक परीक्षामा स–सानो त्रुटिमा पनि फेल भनेर फर्काउने गर्दा सडकमा वर्षौंदेखि बिना सवारी चालक अनुमति नै नलिई सवारी चलाउँदै आएका पनि पटक पटक फेल हुने गरेको गुनासो बढेको थियो। यसरी स–साना त्रुटिमा पनि फेल भनेर फर्काउँदा अनुमतिपत्र अवैधानिकरूपमा लाइसेन्स निकाल्ने, नक्कली परीक्षार्थी परीक्षामा आउने र विभिन्न प्रलोभनमा बिचौलिया सक्रिय भएको गुनासो बढिरहेको थियो । सेवाग्राहीले प्रयोगात्मक परीक्षामा फेल गराएर गलत प्रक्रियाबाट पास गराउन बिचौलिया हावी भएर आर्थिक कारोबार हुने गरेको आरोप लाग्दै आएको थियो ।
आजदेखि लागू भएको प्रणालीमा मोटरसाइकल, स्कुटर तथा मोपेडका लागि कूल अङ्कभार १०० तोकिएको छ भने त्यसमा ७० अङ्क प्राप्त गर्ने प्रशिक्षार्थीले प्रयोगात्मक परीक्षा उत्तीर्ण भएको मानिने र अनुमतिपत्रका लागि योग्य हुने व्यवस्था गरिएको छ । प्रदेश सरकारले तयार पारेर कार्यान्वयनमा ल्याएको निर्देशिकाअनुसार मोटरसाइकल, स्कुटर, मोपेड, कार, जिप, डेलिभरी भ्यानको प्रयोगात्मक परीक्षामा अङ्ग्रेजी अङ्क आठ (एट) को अङ्कभार २० तोकिए पनि दुई पटकसम्म उक्त अङ्कित रेखा छोएमा प्रत्येक पटक पाँच अङ्कको दरले १० अङ्कभार घट्नेछ तर ट्रायल परीक्षा भने उत्तीर्ण हुनेछ।
निर्देशिकाअनुसार प्रयोगात्मक परीक्षामा यु–टर्नको अङ्कभार १० तोकिएको छ । ‘टर्निङ लाइट’ नबालेको खण्डमा १० अङ्क घटाइनेछ भने त्यस्तो अवस्थामा अङ्कित रेखा छोए अनुत्तीर्ण हुने व्यवस्था छ । ट्राफिक सङ्केतका लागि १५ अङ्कभार तोकिएकोमा ट्राफिक सङ्केत पालना नगरेको खण्डमा १५ अङ्क घटाइनेछ । निर्देशिकामा उबडखाबडको अङ्कभार १५ तोकिएको छ ।
एकपटकसम्म सवारीको स्टार्ट बन्द भएको खण्डमा पाँच अङ्कभार घटाइनेछ। एकपटकभन्दा बढी स्टार्ट बन्द भयो भने प्रयोगात्मक परीक्षा दिने अनुत्तीर्ण हुनेछन् । प्रयोगात्मक परीक्षाको क्रममा दुई पटकभन्दा बढी अङ्कित रेखा छोए, सवारीको टायरले अङ्कित रेखाभन्दा बाहिर गए, ठीक दिशाबाट वा ठीक तरिकाबाट आठ आकार नघुमाएमा, एक पटकभन्दा बढी खुट्टाले भुइँ टेकेको अवस्थामा भने अनुत्तीर्ण हुने व्यवस्था गरिएको छ।
प्रकाशित: २ फाल्गुन २०७९, मंगलवार