क्यान इन्फोटेक २०२३ सम्पन्न, तीन लाख बढीले गरे अवलोकन

  • Technology Khabar | १ फाल्गुन २०७९, सोमबार
क्यान इन्फोटेक २०२३ सम्पन्न, तीन लाख बढीले गरे अवलोकन

काठमाडौं ।

कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ) ले आयोजना गरेको २८औं संस्करणको बृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक २०२३’ भव्यताका साथ सम्पन्न भएको छ। राजधानीको भृकुटीमण्डपमा माघ २४ देखि २९ गतेसम्म भएको यो प्रदर्शनीलाई तीन लाख बढीले अवलोकन गरेको आयोजकले जानकारी दिएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गत मंगलबार एक विशेष समारोह माझ ‘इन्फोडेभलर्स क्यान इन्फोटेक २०२३ ईन एसोसिएन विथ डिशहोम फाइबरनेट’को समुद्घाटन गरेकि थिईन।

६ दिनसम्म चलेको प्रदर्शनीमा आइतबार क्यान इन्फोटेकको अन्तिम दिन काठमाडौं महानगरपालिकाकी उप-प्रमुख सुनिता डंगोल, पूर्वमन्त्री महेश बस्नेत, प्रतिधिसभाका सांसद दामोदर पौडेल र लगायतका अतिथिले प्रदर्शनीको प्रत्यक्ष अवलोकन गरेका थिए।

यस संस्करणको क्यान इन्फोटेक उत्साहजनक रूपमा सफल भएको र सकारात्मक प्रतिक्रिया प्राप्त भएको क्यान महासंघका अध्यक्ष रणजीत पोदारले बताए। उनले प्रदर्शनीका सम्पूर्ण प्रायोजक, प्रदर्शनीकर्ता कम्पनीहरू, सहयोगी संस्थाहरू, मिडिया तथा सूचना प्रविधिप्रेमी अवलोकनकर्तालाई धन्यवाद समेत दिए।

क्यान इन्फोटेक २०२३ को शीर्ष प्रायोजकमा सफ्टवेयर कम्पनी इन्फोडेभलपर्स प्रालि रहेको थियो भने एसोसिएट स्पोन्सरमा इन्टरनेट सेवा प्रदायक डिशहोम फाइबरनेट रहेको थियो।

प्रदर्शनीस्थलमा रहेको ब्रान्डिङ कक्षमा देशविदेशका विभिन्न कम्पनी एवं ब्रान्डहरूको उपस्थिति रहेको थियो। यसअन्तर्गत फिन्टेक, इन्टरनेट सेवा प्रदायक, टेलिकम सेवा प्रदायक, हार्डवेयर सेल्स तथा मेन्टेनेन्स, पावर सोलुसन्स लगायत रहेका थिए। त्यस्तै यसपटक स्टार्टअप, इनोभेसन, कलेज तथा तालिम केन्द्रहरू, सफ्टवेयर सोलुसन्सका साथै कम्प्युटिङ डिभाइससँग सम्बन्धित कम्पनीका लागि विशेष स्थान दिइएको थियो। यसरी प्रदर्शनीमा १५० बन्दा बढी स्टलको सहभागिता रहेको थियो ।

मेलामा प्रदर्शनीकर्ता कम्पनीहरूले आफ्ना वस्तु तथा सेवा उपभोक्ता माझ प्रवर्द्धन गरेका थिए । साथै यही अवसरमा कम्पनीहरूले आफ्ना उत्पादनमा ‘क्यान इन्फोटेक अफर’ दिँदै छुट तथा आकर्षक योजना पनि सार्वजनिक गरे। आफ्ना उपभोक्तासँग नजिकिन कम्पनीहरूले अन्तर्क्रिया र रमाइला खेल समेत सञ्चालन गरेका थिए । मेलाको अन्तिम दिन कम्पनीहरूले आफ्ना सेवा तथा उत्पादनको खरिद एवं बुकिङमा ३० देखि ६० प्रतिशतसम्म छुट प्रदान गरेका थिए।

क्यान इन्फोटेककै अवसर पारी रक्तदान कार्यक्रमसमेत गरिएको थियो, जसमा १९३ जना रक्तदानमा सहभागी भएका थिए। त्यस्तै अभियन्ता फाउन्डेसनले क्यान महासंघसँग सहकार्य गरी ६ दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो। यसअन्तर्गत मधुमेह जाँच तथा परामर्शमा २४० जना, आँखा जाँच तथा परामर्शमा २३४ र दन्त जाँचमा २५३ गरी कुल ७२७ जनालाई सेवा प्रदान गरिएको थियो।

त्यस्तै क्यान इन्फोटेकमा कोडिङ कम्पिटिसन, क्विज कन्टेस्ट, गेमिङ कम्पिटिसन, रोबो सकर कम्पिटिसन लगायत पनि सञ्चालन भएको थियो।

यसैबीच राजधानीमा राष्ट्रियस्तरको क्यान इन्फोटेक सफलताका साथ सम्पन्न भएपछि सन् २०२३ भित्र सातै प्रदेशमा क्यान इन्फोटेक गर्ने योजना ल्याइएको महासंघका महासचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए। यसका लागि तयारी तीव्र पारिसकिएको उनको भनाइ थियो।

क्यान आईसीटी सेमिनार २०२३ सम्पन्न

क्यान इन्फोटेक २०२३ को अवसर पारेर कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले आईसीटी सेमिनार आयोजना गरेको छ। यसअन्तर्गत माघ २५ देखि माघ २९ गतेसम्म विभिन्न ४ विषयमा आईसीटी सेमिनार गरिएको थियो।

प्रकाशित: १ फाल्गुन २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार