नेपाल टेलिकमको आम्दानी घट्दो क्रममा, दोस्रो त्रैमासमा गुमायो १ अर्ब १२ करोड रुपैयाँ

  • Technology Khabar | २९ माघ २०७९, आईतवार
नेपाल टेलिकमको आम्दानी घट्दो क्रममा, दोस्रो त्रैमासमा गुमायो १ अर्ब १२ करोड रुपैयाँ
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को भद्रकाली प्लाजामा रहेको मुख्यालय। फाइल तस्बिर

काठमाडौं ।

नेपाल टेलिकमको आम्दानी ह्वात्तै घटेको छ। सरकारी दूरसञ्चार कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासको वित्तिय प्रतिवेदनअनुसार कम्पनीको आम्दानी करिब १ अर्बले घटेको हो।

यहि पुस ३० मा समाप्त भएको दोस्रो त्रैमासिक प्रतिवेदनको सार्वजनिक तथ्यांकअनुसार ८ अर्ब ३० करोड २० लाख ५५ हजार रुपैयाँ ग्राहकबाट आम्दानी गरेको छ। तर ग्राहकबाट हुने यस्तो आम्दानी अघिल्लो आवको सोहि अवधिमा ९ अर्ब ४३ करोड १९ लाख २३ हजार रुपैयाँ थियो।

यसको आधारमा हेर्दा १ अर्ब १२ करोड ९८ लाख ६८ हजार रुपैयाँ उक्त त्रैमासमा नेपाल टेलिकमले गुमाएको छ।

प्रतिवेदनअनुसार वार्षिक आधारमा समेत टेलिकमले ठूलो रकम गुमाएको देखिन्छ। कम्पनीले यस अवधिमा १८ अर्ब ७ करोड ७३ लाख ४९ हजार रुपैयाँ आम्दानी गरेको छ तर यस्तो आम्दानी अघिल्लो वर्षमा १९ अर्ब २० करोड ७२ लाख १७ हजार रुपैयाँ रहेको थियो।

कम्पनीले ग्राहक आम्दानी गुमाए पनि ब्याजबाट हुने आम्दानीमा भने बढेको देखिन्छ। अन्य आम्दानीअन्तरगत रहने यस्तो दोस्रो त्रैमासिक रकम २ अर्ब ८४ करोड ६८ लाख ३६ हजार रुपैयाँ रहेको छ। यसअघिको सोही अवधिमा यस्तो आम्दानी १ अर्ब ६० करोड ४९ लाख १९ हजार रुपैयाँ छ।

टेलिकमले आम्दानी गुमाएसँगै कर्मचारी सुबिधा खर्च र बजारीकरण तथा बिक्री खर्च समेत घटाएको छ।

तर प्रशासनिक खर्च भने उक्त अवधिमा बढेको देखिन्छ। रिपोर्टअनुसार टेलिकमले सो अवधिमा प्रशासनिक खर्च ४९ करोड १३ लाख रुपैयाँ पुर्याएको छ । जबकी यस्तो खर्च गत आवको सोही अवघिमा ३३ करोड १३ लाख १७ हजार रुपैयाँ मात्र थियो।

कम्पनीको दोस्रो त्रैमासिक आम्दानी ह्वात्तै घटेपनि नाफा भने कायम गर्न सफल भएको छ। पुस महिनामा समाप्त टेलिकमको तथ्यांकअनुसार सो अवधिमा नाफा १ अर्ब ९९ करोड ४८ लाख ७३ हजार रुपैयाँ रहेको छ। जबकी यस्तो नाफा अघिल्लो आवको सोही अवधिमा १ अर्ब ६३ करोड ७९ लाख ७१ हजार रहेको थियो। जसअनुसार कम्पनीले सो अवधिमा ३५ करोड ६९ लाख २ हजार रुपैयाँ नाफा रकम थप गरेको छ।

प्रकाशित: २९ माघ २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार