राज्य संरचनामा सूचना प्रविधिका कुरा बुझ्नसक्ने मान्छे हुनुपर्छ: अध्यक्ष राउत

  • Technology Khabar | २८ माघ २०७९, शनिबार
राज्य संरचनामा सूचना प्रविधिका कुरा बुझ्नसक्ने मान्छे हुनुपर्छ: अध्यक्ष राउत

काठमाडौं ।

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले राज्यको संरचनामा नयाँ प्रविधिलाई बुझ्नसक्ने मान्छे हुनुपर्ने बताएका छन्।

क्यान महासंघले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिरहेको क्यान इन्फोटेक २०२३ अवलोकन गर्दै अध्यक्ष राउतले राज्यका संरचनामा सूचना, प्रविधिका नयाँ-नयाँ कुरालाई बुझ्नसक्ने मान्छे हुनुपर्ने बताएका हुन्।

उनले राजनीतिक तहमा प्रविधिसँग जानकार व्यक्तिको पहुँच भएमा देशमा प्रविधिको विस्तार गर्न सहज हुने बताए। उनले राज्यले कुनै पनि प्रकारका प्रविधिको प्रयोग गर्दा त्यसको सुरक्षाको सम्बन्धमा ध्यान दिनुपर्नेमा जोड दिए।

प्रविधिको प्रयोग गर्दा राज्यले डाटा सर्भर कहाँ राख्ने ? सुरक्षा नीति के हुने ? लगायतको विषयमा विशेष रूपमा ध्यान पुर्‍याउनुपर्ने बताए। उनले प्रविधिको प्रयोग गर्दैगर्दा त्यसको सुरक्षाको प्रत्याभूति दिलाउन सक्नुपर्ने बताए।

उनले भने,‘‘राज्यका संरचनामा सबभन्दा पहिला बुझ्नसक्ने मान्छे हुनुपर्छ। हामीकहाँ उदाहरण छन् छिमेकी मुलुकमा कम्प्युटर प्रयोग गर्न हुन्न भन्ने खालको अभिव्यक्ति दिने व्यक्ति प्रदेशको शीर्षस्थ स्थानमा हुनुहुन्थ्यो। यो किन हुन्छ भन्दाखेरी सूचना र प्रविधि क्षेत्रको विषयमा जानकार नभइदिँदा हास्यास्पद स्थिति पनि हामीले देख्ने गरेका छौँ।’’

उनले विज्ञान, प्रविधिको प्रयोग तथा विस्तारका लागि राजनीतिक स्तरमा पनि चेतना हुनुपर्ने बताए।

प्रकाशित: २८ माघ २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार