
काठमाडौं ।
मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री शत्रुधनप्रसाद सिंहले दूरसञ्चारले प्रदान गर्ने सेवामा सबैको पहुँच हुने किसिमले समयसापेक्ष काम गर्नुपर्ने बताएका छन्।
नेपाल दूरसञ्चार प्राधिकरणले मधेश प्रदेशको राजधानी जनकपुरधाममा शुक्रबार आयोजना गरेको मधेश प्रदेशमा दूरसञ्चार सेवाको वर्तमान अवस्था, दूरसञ्चार सेवाको गुणस्तर विषयमा सेवा प्रदायक र सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रमको उदघाटनसत्रलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। नेपाल दूरसञ्चार प्राधिकरणले प्रवाह गर्ने सेवाहरु अझै केही गाउँहरुमा नपुगेको भन्दै ग्रामीण क्षेत्रका गरिब जनताको घरदैलोमा सुलभ तरिकाले सेवा प्रवाह गर्नेतर्फ प्राधिकरणले ध्यान केन्द्रित गर्नुपर्ने उनको सुझाव छ।
प्राधिकरणबाट प्रवाह हुने सेवाहरुमा समस्या देखिनासाथ सञ्चारजगतले त्यो समस्यालाई सरोकारवाला समक्ष पुर्याएमा तत्काल समस्या समाधान हुने र सेवाग्राहीलाई नियमित सेवा लिनमा समस्या नहुने उनले बताए। सञ्चारमन्त्री सिंहले सूचना प्रविधिलाई कृषि तथा पर्यटनसँग जोडेर मुलुक तथा मधेश प्रदेशलाई समृद्धिको बाटोमा लग्नुपर्ने बताए।
नेपाल टेलिकम तथा एनसेलजस्ता धेरै सेवाप्रदायकको सेवा अझै पनि मधेश प्रदेशको ग्रामीण क्षेत्रमा पुग्न नसकेको भन्दै सेवालाई विस्तार गर्न समन्वय र सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताए।
मधेश प्रदेशका प्रमुख सचिव कृष्णबहादुर राउतले विश्वका कतिपय देशहरूले समृद्धिको माध्यम सूचना प्रविधिलाई बनाइरहेको भन्दै नेपाल अहिले पछाडि परेको बताए। सूचना प्रविधिलाई सुरक्षित बनाउनेगरी नेपाल दूरसञ्चार प्राधिकरणले कामकाज गर्न आवश्यक भएको बताए।
नेपाल दूरसञ्चार प्राधिकरणका कार्यकारी अध्यक्ष पुरुषोतम खनालले सूचना प्रविधिको विकासका लागि टावरको निर्माण आवश्यक भएको बताए।
कार्यक्रममा नेपाल टेलिकम मधेश प्रदेशका निर्देशक अन्नत मलिक, एनसेलका प्रमुख सूचना अधिकृत विशालमणि उपाध्याय, अर्जुन घिमिरेसहितले दूरसञ्चार प्राधिकरणले प्रवाह गरेको सेवा र देखिएका समस्या सम्बन्धमा सुझाव राखेका थिए।
प्रकाशित: २८ माघ २०७९, शनिबार