क्यान इन्फोटेक २०२३ मा प्रविधि कम्पनीहरुबीच बजारीकरणको प्रतिस्पर्धा

  • Technology Khabar | २६ माघ २०७९, बिहीबार
क्यान इन्फोटेक २०२३ मा प्रविधि कम्पनीहरुबीच बजारीकरणको प्रतिस्पर्धा

काठमाडौं ।

भृकुटीमण्डपमा जारी नेपालकै सबैभन्दा ठूलो सूचना सञ्चार प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक २०२३’ मा प्रदर्शनीकर्ता कम्पनीहरुबीच आफ्ना सेवा र उत्पादनको बजारीकरण गर्ने प्रतिस्पर्धा चलेको छ। बिहीबार मेलाको तेस्रो दिन सकिँदा अवलोकनकर्तालाई आकर्षित गर्न कम्पनीहरुले क्यान इन्फोटेक विशेष अफर तथा स्किम ल्याउने क्रम बढेको छ।

कम्पनी तथा ब्राण्डहरुले सेवाग्राहीलाई एकै थलोबाट आफ्ना उत्पादन एवं सेवाबारे जानकारी प्रदान गरिरहेका छन्। साथै नेपालमै उत्पादन भएका प्रविधि, नवप्रवर्तन क्षेत्रमा हासिल भएका अनुसन्धान र उपलब्धि तथा सूचना प्रविधिमैत्री स्टार्टअप व्यवसायमा अवलोकनकर्ताको चासो बढेको छ।

विशेषगरी कृषि, पर्यटन, हस्पिटालिटी लगायतका क्षेत्रमा प्रयोग हुने प्रविधिबारे बुझ्न चाहने अवलोकनकर्ता धेरै रहेको महासंघका महासचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए। विगतका इन्फोटेकको तुलनामा यसपाली युवाहरूको क्रेज बढेको समेत उनले सुनाए।

प्रदर्शनीस्थलमा रहेको ब्रान्डिङ कक्षमा देशविदेशका विभिन्न कम्पनी एवं ब्रान्डहरूको उपस्थिति छ। यसअन्तर्गत फिन्टेक, इन्टरनेट सेवाप्रदायक, टेलिकम सेवाप्रदायक, हार्डवेयर सेल्स तथा पावर सोलुसन्स लगायत छन् ।
क्यान इन्फोटेकको अवसर पारी विभिन्न सेवाप्रदायक तथा बिक्रेताले आफ्ना सेवा तथा वस्तुमा छुट घोषणा गरेका छन्। यसअन्तर्गत कम्पनीहरुले वस्तु खरिद तथा बुकिङमा छुट, निःशुल्क परामर्श, कोडिङ च्यालेन्ज तथा रमाइला खेल सञ्चालन गरिरहेका छन्।

आयोजक क्यान महासंघले पनि फेसबुक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालमा नियमित रुपमा विभिन्न अनलाइन कन्टेस्ट आयोजना गरी सूचना प्रविधिप्रेमी व्यक्तिहरूलाई निःशुल्क प्रवेश टिकट र उपहारहरू प्रदान गरिरहेको बताएको छ।

अवलोकनकर्ताको रोजाइ रोबोटिक्स, स्टार्टअप कम्पनी, गेमिङ लगायतका नयाँ प्रविधिमा बढी देखिएको छ। त्यस्तै मेलामा राखिएका नेपाली स्टार्टअप र इनोभेसनबारे बुझ्न चाहने अवलोकनकर्ताको संख्या पनि उल्लेख्य छ।
मेलामा स्टार्टअप प्याभिलियनमा २० भन्दा बढी कम्पनी सहभागी छन्। त्यस्तै इन्फोटेकमा राखिएको कलेज प्याभिलियनमा विद्यार्थीका आइडिया र परियोजना समावेश छन्।

मेला हेर्न भक्तपुरबाट आएकी अञ्जना न्यौपानले नयाँ प्रविधिलाई बुझ्ने र उपभोग गर्ने तरिकाको विषयमा जान्ने मौका पाएको प्रतिक्रिया दिईन्।

क्यान इन्फोटेकलाई सर्वसाधारणसँगै विशिष्ट व्यक्तिहरूले पनि अवलोकन गरेका छन्। यस अन्तर्गत बिहीबार नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही, विद्युतीय सुशासन आयोगका सीईओ दीपेश विष्ट सहित विभिन्न क्षेत्रका अधिकारीहरू, कलाकार तथा सूचना प्रविधिप्रेमी महानुभावले मेला अवलोकन गरेको जनाएको छ।

दुई विषयमा आईसीटी सेमिनार सम्पन्न

क्यान इन्फोटेक आयोजनाको अवसर पारी बुधबारदेखि फरक फरक विषयमा आईसीटी सेमिनार पनि सुरु भएको छ। यसअन्तर्गत बिहीबार ‘नेपालमा ब्लकचेन’ विषयमा सेमिनार सम्पन्न भयो।

ब्लकचेन प्रविधिको नेपालमा प्रयोग, यसका लागि आवश्यक स्रोत, रोजगारीको सम्भावना तथा यसले विभिन्न उद्योगलाई दिने सहयोगबारे ब्लकचेन प्रविधिबारे जानकार विवेक कोइराला र डिजिटल एज प्रालिकी प्रबन्ध निर्देशक दिव्या दलीले सहजीकरण गरिन।

त्यस्तै ‘फिनटेक एन्ड क्रस बर्डर इनवार्ड पेमेन्ट्स एन्ड रेमिटेन्स’ विषयमा बिहीबार नै अर्को सेमिनार पनि सम्पन्न भएको छ। गत बुधबार प्रविधि उद्योग र एकेडेमियाबीच देखिएको ग्यापका विषयमा सेमिनार आयोजना गरिएको थियो।

यी सेमिनारले क्यान इन्फोटेकलाई सूचना प्रविधिको प्रदर्शनीसँगै सरोकारवालाहरूबीच सार्थक अन्तर्क्रिया गराउने विश्वास लिइएको छ।

प्रकाशित: २६ माघ २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...