सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पूँजीगत खर्च केबल १३.७७ प्रतिशत

  • Technology Khabar | १२ माघ २०७९, बिहीबार
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पूँजीगत खर्च केबल १३.७७ प्रतिशत
File Photo

काठमाडौं ।

चालु आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक वित्तीय समिक्षाअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पूँजीगत खर्च न्यून देखिएको छ।

तथ्यांकअनुसार चालु आवको वार्षिक बिनियोजनको आधारमा हेर्दा सञ्चार मन्त्रालयको पूँजीगत खर्च केबल १३.७७ प्रतिशत मात्र रहेको छ। पुस सम्मको बिनियोजनको आधारमा हेर्दा भने यस्तो पूँजीगत खर्च ३३.७१ प्रतिशत रहेको देखिन्छ। रकमको आधारमा पुससम्म यस्तो खर्च ४४ करोड २ लाख रुपैयाँ हो ।

सञ्चार मन्त्रालयको चालु आर्थिक वर्षको लागि वार्षिक बजेट ८ अर्ब ५९ करोड ९० लाख रुपैयाँ रहेको छ। जसमध्ये चालु खर्च ५ अर्ब ४० करोड २७ लाख रुपैयाँ रहेको छ भने पूँजीगत खर्चतर्फ ३ अर्ब १९ करोड ६३ लाख रुपैयाँ बजेट बिनियोजन गरिएको छ।

अर्थ मन्त्रालयको तथ्यांकअनुसार सञ्चार मन्त्रालयले चालु आर्थिक वर्षको अर्ध वार्षिकसम्म पूँजीगत खर्च ३३.७१ प्रतिशत मात्र गर्न सकेको छ।

यसैगरी मन्त्रालयले चालु खर्चतर्फ वार्षिक बजेटको आधारमा ३९.६० प्रतिशत गरेको छ भने अर्ध वार्षिक अवधिसम्म ७५.९७ प्रतिशत खर्च गर्न सफल भएको छ।

तथ्यांकअनुसार समग्र खर्चमध्ये वार्षिक बजेटको आधारमा ३० प्रतिशत खर्च भएको छ भने पुस मसान्तसम्म यस्तो कुल खर्च ६२.५८ प्रतिशत रहेको देखिन्छ।

मन्त्रालयले चालु आवको पहिलो अर्ध वार्षिकसम्म चालु खर्च २ अर्ब १३ करोड ९४ लाख रुपैयाँ गरेको छ।

मन्त्रालयको लागि पुस मसान्तसम्मका लागि बजेटमा चालु खर्चतर्फ २ अर्ब ८१ करोड ६० लाख रुपैयाँ बिनियोजन भएको थियो भने पूँजीगत खर्चतर्फ १ अर्ब ३० करोड ५९ लाख रुपैयाँ बिनियोजन गरिएको थियो।

गएको सोमबार उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजीगत खर्च बढाउन र चालु खर्च घटाउन मन्त्रालयका सचिवहरुलाई निर्देशन दिएका थिए।

प्रकाशित: १२ माघ २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार