
काठमाडौं ।
काठमाडौँ लिभिङ्ग ल्याब्स कन्सल्टले आफ्नो मोबाइल एप्लिकेसन बाटो (Baato) मा नयाँ फिचर ल्याएको छ।
हामी नेपालीहरुले कुनै ठाउँको लोकेसन थाहा पाउनको लागि ल्याण्डमार्कहरुको प्रयोग गर्ने चलन छ, जस्तै पीपलबोटको दायाँ, गणेश मन्दिरको छेऊ, पोखरीसँगै, आदि। यसै चलनलाई आत्मसात गर्दै नेपाली युवाहरुले निर्माण गरेको म्याप एप्लिकेसन हो बाटो।
बाटोले आफू रहेको स्थान देखाउने मात्र होइन, आफूले चाहेको स्थान सम्मको दिशा देखाउन सो स्थान वरिपरि रहेका विभिन्न ल्याण्डमार्कहरुको पनि प्रयोग गर्ने बताईएको छ।
नेपालका विभिन्न विकट स्थानहरुमा नेटवर्क उपलब्ध नहुने कुरालाई ध्यानमा राखी पूर्णरुपमा अफलाइन रहेरै कुनै स्थानसम्मको दिशा देखाउने सुविधा पनि बाटो एपले समावेश गरेको कम्पनीले जानकारी दिएको छ।
यस विशेषताका कारण बाटो एप टेलिकमको नेटवर्क भए/नभएका नेपालभरिका सम्पूर्ण स्थानहरुमा चलाउन मिल्छ। विभिन्न ट्रेकिङ्ग रुटहरुको विस्तृत डाटा पनि समावेश भएको हुनाले बाटो एप देशी/विदेशी सम्पूर्ण पर्यटकहरुको भरपर्दो सहयात्री बन्न सक्छ।
खानाका पारखीहरुले आफू नजिक रहेका खानाका विभिन्न परिकारहरुको खोजी गर्नको लागि बाटो एपको यस नयाँ अपडेटका कारण निकै सहज हुनेछ। यसको कार्ड इन्टरफेसमा तपाईंले खानाका विभिन्न परिकारहरु स्वाइप गर्दै हेर्न र आफूलाई चाख मन लागेका परिकारहरुलाई लाइक गर्न सक्नुहुन्छ । बाटो एपको प्रोक्सिमिटि रिकोमेन्डेसन प्रणालीले तपाईंको रुचिलाई ध्यानमा राखी तपाईंले लाइक गर्नुभएका परिकारहरु पाउने रेस्टुरेन्ट नजिक तपाईं पुग्नुभयो भने सो परिकार चाख्नको लागि तपाईंलाई रिमाइन्डर पनि पठाउँछ।
प्रणालीले आफू नजिकै रहेका पार्किङ्ग गर्ने स्थान, फार्मेसी तथा अन्य विभिन्न स्थानहरु पनि नक्सामा देखाउने कम्पनीले जनाएको छ।
प्रकाशित: ५ माघ २०७९, बिहीबार