
काठमाडौं ।
अमेरिकी प्रविधि कम्पनी गुगलले आफ्नो गेमिङ सेवा स्टाडिया बन्द गरेको छ।
गुगल स्टडियाले अपेक्षा गरेअनुरुप लोकप्रियता नपाएको र धेरै कमाउन नसक्दा कम्पनीले यो कदम चालेको मानिन्छ। कम्पनीले यसअघि सहायक ड्राइभिङ मोड ड्यासबोर्ड बन्द गरिएको थियो।
गुगलको क्लाउड गेमिङ सेवा गुगल स्टाडिया यहि जनवरी १८ अर्थात बुधबारदेखि बन्द भएको हो। कम्पनीले गेमरहरूलाई उनीहरूले खरिद गरेको खेल, हार्डवेयर र एड-अन सामग्री फिर्ता गर्न पनि थालेको छ।
गुगलले स्टाडिया खरिद गर्ने जो कोहीलाई रकम फिर्ता गर्ने वाचा गरेको छ।गुगलले रकम फिर्ता गर्ने कार्य जनवरीको मध्यमा पूरा हुने अनुमान गरेको छ। कम्पनीले आफ्नो वेबसाइटमा सोधिने प्रश्नहरुमार्फत रकम फिर्ताको कार्य स्वचालितरुपमा हुने जानकारी दिएको छ।
स्टाडिया बन्द भएको घोषणा पछि प्रयोगकर्ताहरूले गेमहरूमा पहुँच गर्न असमर्थ भएका छन्।
सन् २०१८ मा टेक कम्पनी गुगलले गुगल स्टडियाको बीटा संस्करण जारी गरेको थियो। यसपछि अर्को वर्ष अर्थात् २०१९ मा सबै गेमरहरूका लागि यो क्लाउड गेमिङ सेवा सुरु गरिएको थियो। तर, कम्पनीको यो सेवाले खासै लोकप्रियता पाउन सकेन।
यसैबीच कयौं गेमर तथा गेम डेभलपर कम्पनीहरुले गुगलको गेमिङ्ग प्लेटफर्म बन्द भएकोमा दुख व्यक्त गरेका छन्।
प्रकाशित: ५ माघ २०७९, बिहीबार