
काठमाडौं ।
भारतीय व्यवसायीक समूह टाटा ग्रुप, सफ्टवेयरदेखि अटोमोबाइल्ससम्मका व्यवसायहरूसँग आबद्ध रहेको छ र यसले भारत र युरोपमा विद्युतीय सवारी साधन (इभी) को लागि ब्याट्री सेल प्लान्टहरू स्थापना गर्ने योजनामा छ।
टाटा समूहको अटोमोबाइल कम्पनी टाटा मोटर्सले भारतमा ५० हजारभन्दा बढी विद्युतीय कार बिक्री गरेको छ। यसले मार्च २०२६ सम्ममा १० ओटा ईभी लन्च गर्ने योजना बनाएको छ।
टाटा मोटर्सले २०२५ सम्ममा आफ्नो कुल बिक्रीको लगभग २५ प्रतिशत इभीहरु हुने अपेक्षा गरेको छ। यो संख्या अहिले करिब आठ प्रतिशत पुगेको छ । कम्पनीका प्रमुख वित्तीय अधिकारी पीबी बालाजीले एक अन्तर्वार्तामा रोयटर्सलाई बताएअनुसार विद्युतीय कारहरूमा स्थानीय कम्पोनेन्टको हिस्सा बढाउन ईभीको ब्याट्रीका लागि सेल निर्माणलाई स्थानीयकरण गर्नु महत्त्वपूर्ण छ। यसले कम्पनीलाई स्थानीय आपूर्ति श्रृंखला बनाउन मद्दत गर्नेछ। उनले टाटा मोटर्सले भारत बाहेक ब्याट्री सेल उत्पादनका लागि युरोपमा प्लान्ट स्थापना गर्ने विचार गरिरहेको जानकारी दिए । यससँगै युरोपमा कारखाना रहेको कम्पनीको प्रिमियम कार युनिट जगुआर ल्याण्ड रोभरको ब्याट्री सेलको आवश्यकता पनि पूरा हुनेछ।
टाटा मोटर्सको मूल कम्पनी टाटा सन्सले ब्याट्री सेल निर्माणमा लगानी गर्ने उनले बताए। तर, उनले लगानीको रकम वा कार्यकाल भने खुलाएनन्। यसबारे छिट्टै घोषणा हुने उनले बताएका छन्।
प्रकाशित: १ माघ २०७९, आईतवार