Technology Khabar २८ पुष २०७९, बिहीबार
काठमाडौं ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा विश्वव्यापीरुपमा देखा परेको समस्या समाधान गर्न सामुहिक पहल जरुरी रहेको बताएका छन्।
भ्वाइस अफ साउथ समिट अन्तर्गत अर्थमन्त्रीहरुको सत्रलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उपप्रधान तथा अर्थमन्त्री पौडेलले विद्युतीय वित्तीय सेवाहरुको प्रयोगमा उत्प्रेरित गर्न सरकारले कार्यक्रमहरु लागु गरेको जानकारी दिए।
नेपालमा हामी वित्तीय सेवाहरुमा पहुँच फराकिलो बनाउने काम गरिराखेका जानकारी गराउँदै उपप्रधान तथा अर्थमन्त्री पौडेलले विद्युतीय वित्तीय सेवाहरुको प्रयोगमा उत्प्रेरित गर्नका लागि कार्यक्रमहरु लागु गरेको बताए ।
नेपालको राष्ट्रिय वित्तीय समावेशीकरण रणनीति तयार हुँदै गरेको जानकारी गराउँदै उनले वित्तीय समावेशिकरण तथा डिजिटलाईजेशनमा भारतले ठूलो सफलता हासिल गरेको र भारतको सफलताको कथाबाट सिक्न र नेपालको सन्दर्भमा कार्यान्वयन गर्न इच्छुक रहेको धारणा व्यक्त गरे।
कोभिड १९ को महामारी पछि विश्वव्यापी रुपमा आर्थिक मन्दीको संकेत देखिराखेको र त्यससँग जुध्न सामुहिक पहल गर्ने यो उपयुक्त समय भएको बताए ।
मानव विकास र आर्थिक वृद्धि सँगसँगै हुने उल्लेख गर्नु हुँदै उपप्रधान तथा अर्थमन्त्री पौडेलले भने–‘नेपाल सन् २०२६ सम्ममा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने बाटोमा छ । हामी सम्बृद्ध नेपाल, सुखी नेपालीको एजेण्डालाई अगाडि बढाउन केन्द्रित छौं ।’
आर्थिक रुपान्तरणका लागि नेपालले पूर्वाधार, शिक्षा, स्वास्थ्य सेवा र सामाजिक सुरक्षा जस्ता क्षेत्रहरुलाई प्राथमिकता दिएको र दिगो विकास लक्ष्य हासिल गर्न सन् २०१६ देखि २०३० सम्मको अवधिमा वार्षिक रु. ५८५ अर्ब वित्तीय अभाव भएको उनको भनाइ छ।
‘सन् २०१९ लाई आधार वर्ष मान्दा यो कुल गार्हस्थ्य उत्पादनको १२.८ प्रतिशत हुन्छ ।
समिटमा नेपाल, भारत, श्रीलंका, कोलम्बिया लगायत १५ देशका अर्थमन्त्रीहरुको सहभागिता थियो।
प्रकाशित: २८ पुष २०७९, बिहीबार