एप्पलको आपूर्तिकर्ता बीओई भियतनाममा प्लान्ट निर्माण गर्ने योजनामा

  • Technology Khabar | २८ पुष २०७९, बिहीबार
एप्पलको आपूर्तिकर्ता बीओई भियतनाममा प्लान्ट निर्माण गर्ने योजनामा

काठमाडौं ।

एप्पल र सामसङ इलेक्ट्रोनिक्सको आपूर्तिकर्ता चिनियाँ डिस्प्ले निर्माता बीओई टेक्नोलोजी ग्रुपले भियतनाममा दुई ओटा कारखाना निर्माण गर्नका लागि पर्याप्त रकम लगानी गर्ने योजनामा रहेको उक्त विषयमा परिचित दुई व्यक्तिलाई उदृत गर्दै रोयटर्सले रिपोर्ट गरेको छ।

उक्त कारखानाहरु निर्माण गर्न ४,०० मिलियन अमेरिकन डलसम्म लागत लाग्न सक्ने जानकार मध्येका एकजनाले बताएका हुन्।

बेइजिङ र वाशिङटनबीचको व्यापार र भूराजनीतिक तनाव र चीनको कोभिड–१९ नियन्त्रणका उपायहरूका कारण उत्पन्न भएको उत्पादन अवरोधको स्थिति बीचमा बीओईको यो योजनाले गर्दा अमेरिकी आईफोन निर्माता एप्पल र ताइवानी डिभाइस एसेम्बलर फक्सकनको नेतृत्वमा रहेको टेक्नोलोजी फर्महरूद्वारा चीनमा आपूर्ति श्रृंखलाको जोखिम कम गर्ने प्रयासलाई जोड दिन सक्नेछ।

बीओईले अहिले उत्तर भियतनाममा दर्जनौं हेक्टर जग्गा भाडामा लिनको निम्ति वार्तामा गरिरहेको र उक्त वार्ता गोप्य भएका कारण पहिचान नखुलाउने सर्तमा मानिसहरूले सो जानकारी दिएका हुन्। हाल कम्पनीको दक्षिण तर्फ रहेको प्लान्टले दक्षिण कोरियाको सामसङ र एलजी इलेक्ट्रोनिक्स इंकलाई धेरै जसो टेलिभिजन स्क्रिनहरू आपूर्ति गर्ने बताइएको छ।

स्मार्टफोन, कम्प्युटर, क्यामराका साथै एप्पल र सामसङका फ्ल्यागसिप सामानहरुको उत्पादन गर्दै उत्पादनको प्रमुख हब बनेको उत्तर भियतनामले हालैको वर्षहरुमा इलेक्ट्रोनिक्स हस्तिहरुबाट उल्लेखनिय रुपमा लगानी आकर्षित गर्न सफल भएको छ।

त्यसैगरी होन हाई प्रेसिजन इन्डस्ट्री कम्पनी लिमिटेड (फक्सकन) र चीनको लक्सशेयर प्रेसिजन इन्डस्ट्रिले सोही क्षेत्रमा एप्पलका ल्यापटप र ट्याब्लेट कम्प्यूटर जस्ता धेरै प्रोडक्टहरू एसेम्बल गर्ने योजना बनाएको छ।

बीओईले १०० हेक्टरसम्म जग्गा भाडामा लिएर त्यसको २० प्रतिशत भागमा १५० मिलियन अमेरिकी डलरको लागत गरी रिमोट कन्ट्रोल सिस्टम बनाउने प्लान्टको निर्माण गर्ने योजनामा रहेको छ।

२०२५ सम्ममा २५० मिलियन अमेरिकी डलरको लागतमा बीओईले ५० हेक्टरमा प्लान्ट निर्माण गर्ने र बाँकी ३० हेक्टर भने आपूर्तिकर्ताहरूले प्रयोग गर्न सक्ने उल्लेख गरिएको छ।

बीओईले उक्त साइटमा लिक्विड–क्रिस्टल डिस्प्ले (एलसीडी) को सट्टा अधिक परिष्कृत अर्गानिक लाईट इमिटिङ डायोडस् (ओएलईडी) स्क्रिनहरु बनाउने योजनामा छ।

२०२१ को उत्पादन साझेदारहरूको सूचीमा समावेश गरेको बीओईले उत्पादन गरेर एप्पलले आफ्नो पछिल्लो आईफोन स्मार्टफोनहरूमा ओएलईडी स्क्रिनहरू प्रयोग गरेको बताइएको छ।

उत्पादनको आधारमा चीनको सबैभन्दा ठूलो डिस्प्ले निर्माता मानिएको बीओइले सन् २०२४ सम्ममा नयाँ आईफोनहरूका लागि डिस्प्लेको सबैभन्दा ठूलो आपूर्तिकर्ता बन्ने तयारीमा लागेको भनी टीएफ इन्टरनेशनल सेक्युरिटीजका विश्लेषक कुओ मिङ–चीले गत हप्ता पूर्वानुमान गरेका थिए।

यद्यपी अमेरिकी टेक जायन्टले भने अर्को वर्षदेखि इन–हाउस मोबाइल स्क्रिन निर्माण गर्ने योजनामा रहेको ब्लूमबर्गले गत बुधबार एक रिपोर्टमा उल्लेख गरेको बताइएको छ।

त्यसैगरी बीओईको भियतनामबाट विशेष रूपमा एप्पललाई आपूर्ति गर्ने कुनै उद्देश्य वा योजना नभएको स्रोतले जानकारी दिएको छ।

विश्वको सबैभन्दा ठूलो स्मार्टफोन निर्माता सामसङले भियतनाममा आफ्ना आधा ह्यान्डसेटहरू उत्पादन गर्ने गरेको छ भने एलजीले पनि भियतनाममा नयाँ लगानीको लागि योजना बनाई रहेको छ।

प्रकाशित: २८ पुष २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार