
काठमाडौं ।
राष्ट्रिय योजना आयोगले ‘प्रमुख आर्थिक सूचकको प्रयोग विधि’ नामक डिजिटल पुस्तक सार्वजनिक गरेको छ। आयोगले मङ्गलबार एक कार्यक्रमबीच उक्त पुस्तक सार्वजनिक गरेको हो।
यो पुस्तक योजना आयोगको अग्रसरतामा राष्ट्रिय तथ्याङ्क कार्यालय, विकासका लागि तथ्याङ्क कार्यक्रम, द एशिया फाउण्डेशन र नेपाल इन डाटाले संयुक्त रुपमा तयार पारेको हो।
राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले सही तथ्याङ्क प्राप्ति र त्यसको विश्लेषणमा ठूलो खाडल महशुस भएपछि यो डिजिटल पुस्तक प्रकाशनमा ल्याइएको बताए।
सबै नीति तथा योजना निर्माणको आधार तथ्याङ्क भएकाले यसको विश्लेषण तथ्यपूरक हुनुपर्ने आवश्यकता उनले औँल्याए। “तथ्याङ्कको प्रस्तुती कसरी गर्ने भनेर स्पष्ट पार्न यो प्रकाशन ल्याइएको हो। तथ्याङ्कको परिभाषादेखि यसको सङ्कलन, प्रशोधन, ब्याख्या, र विश्लेषण विधिसम्म समेटिएकाले यो एउटा महत्वपूर्ण पुस्तक हो भन्ने मलाई लागेको छ,” सचिव भण्डारीले भने।
पुस्तक सार्वजनिक कार्यक्रममा राष्ट्रिय तथ्याङ्क कार्यालयका सहसचिव नेबिल लाल श्रेष्ठले आर्थिक क्षेत्रसँग जोडिएका हरेक तथ्याङ्कको परिभाषासहितको एकीकृत जानकारी पाउने गरी यो प्रकाशन तयार पारिएको बताए। त्यस्तै, नीति निर्माता, अध्ययन–अनुसन्धानकर्ता, सार्वजनिक निकाय, पत्रकारिता क्षेत्र, शैक्षिक क्षेत्रलगायत विभिन्न क्षेत्रमा तथ्याङ्कको गलत विश्लेषण नहोस् भन्ने उद्देश्य राखेर यो पुस्तक तयार पारिएको पनि उनको भनाइ छ।
“तथ्याङ्कको सही प्रयोग होस् र गलत ब्याख्या नहोस् भनेर यो प्रकाशन ल्याइएको हो। सबै तथ्याङ्कसँग कुनै कथा लुकेको हुन्छ। हामीले प्रयोग गरिरहेको तथ्याङ्क उत्पादन कसरी भयो ? त्यसको विधि के हो ? त्यसको अवधारणा र परिभाषाबारे स्पष्ट हुन जरुरी छ”, उनले भने। जुनसुकै नीति निर्माणका लागि प्रयोग हुने तथ्याङ्कको अवधारणा र परिभाषा बुझ्न सकेमा मात्रै हामीले प्रयोग गरेको तथ्याङ्क प्रभावकारी हुने श्रेष्ठको भनाइ छ।
प्रकाशित: १९ पुष २०७९, मंगलवार