
काठमाडौं ।
-निर्दोष घोरसाइने
सरकारले बन्द गरेको भनेर दाबी गर्दै आएका यौनजन्य तथा पोर्न साइटहरु निर्वाध खुलिरहेको भेटिएका छन्।
इन्टरनेटको माध्यमबाट यौनजन्य अश्लिल सामग्रीमा सहज पहुँचले गर्दा नेपाली समाजको मूल्य मान्यता र सामाजिक सद्भावमा खलल पुगेको तथा समाजमा यौनजन्य हिंसा र विकृति सिर्जना गर्न प्रेरित गरेको भन्दै २०७५ असोज ५ गतेदेखि सरकारले नेपालमा पोर्न साइट माथि प्रतिबन्ध लगाइरहेको छ।
अश्लील सामग्रीहरुको विद्यूतीय सञ्चार तथा इन्टरनेटको माध्यमबाट आदान प्रदान, प्रकाशन र प्रसारण नगर्न दूरसञ्चार सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायक, सामाजिक सञ्जाल सञ्चालक तथा प्रयोगकर्ता लगायत सबैमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनुरोध पनि गरेको थियो।
तर पनि विश्वकै चर्चित पोर्न साइटहरु बिना कुनै भीपीएन तथा अवरोध खुल्ने गरेको भेटिएका छन्।
मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा १२१ तथा अन्य प्रचलित कानूनले यौनजन्य अश्लील सामग्रीहरुको आदान प्रदान, प्रकाशन र प्रसारणलाई बन्देज लगाएको छ।
नेपालमा बलत्कार, यौन हिंसालगायत जघन्य अपराध बढ्दै गएको र समाजको मूल्य मान्यता तथा सामाजिक सद्भावमा खलल पुगेको भन्दै तत्कालिन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले अश्लील साइट प्रतिबन्ध गर्नुपर्नेमा जोड दिएका थिए।
तत्कालिन संचारमन्त्री गोकुल बास्कोटाले २०७५ पुसमा काभ्रेको बेथानचोक गाउँपालिकको ढुंङखर्कमा पीएसटीएन एक्सटेन्सन टेलिफोन एक्चेञ्जको उद्घाटन गर्ने क्रममा १७ हजार पोर्न साइट बन्द गरिएको र थप ३ लाख पोर्नसाइट प्रतिबन्धको तयारी गरिरहेको बताएका थिए।
प्राधिकरणले विभिन्न समयमा आफ्नो नोटिसमा आएको पोर्न साइटहरु बन्द गर्न इन्टरनेट सेवा प्रदायकहरुलाई निर्देशन पनि दिँदै आइरहेको छ।
नेपालमा पोर्नसाइट माथिको प्रतिबन्ध ४ वर्षभन्दा बढी भइसकेको छ। तर पनि पछिल्लो समय इन्टरनेटमा निर्वाधरुपमा पोर्न साइटहरु खुल्ने गरेको भेटिएको छ। अहिले इन्टरनेटमा विश्वका चर्चित पोर्नसाइटहरु पनि सहजरुपमा खुलिरहेका छन्।
सरकारको निर्देशन अनुरुप नै पोर्न साइट बन्द गरिएको नेपाल दूरसञ्चार प्राधिकरणका सहप्रवक्ता अच्युतानन्द मिश्रले बताए।
‘पोर्न माथिको प्रतिबन्ध अझै कायम छ। यो सुरक्षा सम्बन्धि विषय जस्तै हो। वेबसाइटहरुले आफ्नो साइटलाई उपभोक्तासँग पुर्याउन नयाँ तरिका खोजिरहेका हुन्छन्,’ मिश्रले टेक्नोलोजीखबरसँग भने, ‘नेपालमा पोर्न साइट चलाउनका लागि कम्पनीले यस्तै विधि अपनाएका हुन सक्छन्।’
प्राधिकरणको नजरमा नपरेकाले पनि अश्लील साइटहरु खुलेका हुनसक्ने उनको बुझाइ छ।
इन्टरनेट सेवा प्रदायक संघ (आईस्पान)का सीईओ सुभाष खड्काका अनुसार प्राधिकरणले उपलब्ध गराउँदै आएको विवरणको आधारमा पोर्न सम्बन्धित साइटहरु ब्लक गर्ने गरिएको छ।
‘कुनै पनि वेबसाइट ब्लक गर्नु भनेको प्राविधिक विषय हो। इन्टरनेट भनेको नेटवर्क अफ नेटवर्कको इको सिस्टम हो। हाम्रो डोमेनमा भएको डीएनएस सर्भरलाई मात्र ब्लक गर्न सकिन्छ। पोर्न सामाग्री भएका डीएनएस ब्लक गर्दै आइहेका छौं,’ खड्काले भने, ‘हाम्रो डोमेन भन्दा बाहिर रहेको कन्टेन्टलाई भने ब्लक गर्न सकिँदैन।’
कसैले अश्लील साइटमा पहुँच गर्न खोज्दा त्यहाँ डीएनएस ब्लक भएको सूचना देखिन्छ र त्यस्ता साइट खुल्दैन। अन्य थर्ड पार्टी सफ्टवेयरको सहायता बिना ब्लक गरिएका अश्लील साइटहरु हेर्न नसकिने उनको भनाइ छ।
तर इन्टरनेटमा पहुँच र इन्टरनेटको अधिकार बारेमा लबिङ्ग गर्दै आएका अधिवक्ता सन्तोष सिग्देलले भने कुनैपनि वेबसाइट जथाभावी ब्लक गर्न नपाईने बताए।
उनले पोर्न साइट बन्द गर्दा कुनै कारण समेत नतोकिकन बन्द गरेको भन्दै भने, “हामी कुनैपनि इन्टरनेट कन्टेन्ट ब्लक गर्नु हुँदैन र सबै वेबसाइट खोल्नुपर्छ भन्ने पक्षमा छौं। कारण नखुलाई बन्द गर्न पाईँदैन्।”
प्रकाशित: २० पुष २०७९, बुधबार