
काठमाडौं ।
अनलाइन मिडिया टेकपाना डटकम विरुद्ध घृणा फैलाएको भन्दै अदालतमा मुद्दा दायर भएको छ। टेकपाना मिडिया प्रालीको तर्फबाट सेतोपाटी सञ्चार प्रालिमा कार्यरत पत्रकार निर्मला घिमिरे विरुद्ध बिहीबार काठमाडौं जिल्ला अदालतमा लिखित गाली बेइज्जती अन्तरगत मुद्दा दायर भएको हो।
वारेसमार्फत दर्ता भएको उक्त मुद्दामा निर्मला घिमिरेले २०७९ मङ्सिर २७ गतेका दिन सामाजिक सञ्जालमार्फत टेकपाना विरुद्ध घृणा फैलाउने पोस्ट गरेको विषय उल्लेख छ।
‘टेकपाना नामक अनलाइनले ३० वर्ष उमेरसम्मका (ब्युटिफुल योङ) पत्रकार महिलाहरूलाई मात्रै जागिर दिन्छ रे भन्ने बजारमा सुनिरहेकी थिएँ। अरु मिडियाहरूले पनि यस्तै सिस्टम ल्याए भने त म जागिरै नपाउने रैछु। झन् ३० वर्ष कटेपछि के गर्ने होला,’ भन्दै उनले सामाजिक सञ्जाल फेसबुकमा डिसेम्बर १३ तारिखमा लेखेकी थिइन्।
सबै फेसबुक प्रयोगकर्ताले देख्न, लाइक गर्न र शेयर गर्न मिल्ने गरी घिमिरेले राखेको उक्त पोस्टलाई लिएर टेकपानाका केही महिला कर्मचारीहरूले कम्पनीका प्रमुख कार्यकारी अधिकृतलाई ‘गम्भीर ध्यानाकर्षण बारे’ निवेदन दिएको मुद्दाको निवेदनमा लेखिएको छ। घिमिरेको कार्यबाट टेकपानाले गर्ने पत्रकारिता तथा सामाजिक सञ्जालमा बढ्दै गइरहेको लोकप्रियतामा गम्भीर मानहानी भएको उल्लेख छ।
“निजको फेसबुक आईडीबाट यस कम्पनी तथा कम्पनीका सञ्चालक, पदाधिकारी, कर्मचारी समेतलाई लक्षित गरी लेखेको तथ्यहीन, आधारहीन, घृणा, द्वेष फैलाउने गरी राखेको स्टाटसले यस कम्पनीका सञ्चालक, पदाधिकारी, कर्मचारी समेतको मनोभावनामा आँच आएको, प्रतिष्ठामा असर परि बेइज्जती भएको,” भन्दै कानूनी उपचार तथा न्यायको माग गरिएको छ।
टेकपाना डटकमका पदाधिकारीहरूको व्यक्तिगत, व्यवसायिक तथा पेशागत कार्यमा गम्भीर असर पुर्याउने गरी चरित्र हत्या गर्ने उद्देश्यले घिमिरेले उक्त कार्य गरेको आरोप मुद्दाको निवेदनमा छ।
“पत्रकारिता दुनियाँमा कम्पनीको ख्यातिलाई समेत गिराउने दुषित मनसायले लिखित रूपमा गाली बेइज्जती गर्ने नियतका साथ उनले उल्लेखित कार्य गरेकी छिन्,” टेकपानाको तर्फबाट दायर मुद्दामा भनिएको छ।
उनको पोस्ट तथा त्यसमा गरिएका कमेन्ट र लाइकले कम्पनीको ख्यातिमा धक्का पुर्याउनुका साथै कार्यरत महिला कर्मचारीहरूको कार्य क्षमतामा ह्रास ल्याएको, कम्पनी र कम्पनीमा कार्यरत पत्रकारहरूको पेशागत मर्यादामा गम्भीर चरित्र हत्या गरेको उल्लेख छ। निर्मला घिमिरेले मुलुकी फौजदारी संहिता २०७४ को दफा ३०६ मा निर्दिष्ट गरेको कार्य गरेकाले उनी विरुद्ध सोही ऐनको दफा ३०७ बमोजिम सजायको माग गरिएको छ।
“यसका साथै विपक्षी प्रतिवादीबाट मनासिब क्षतिपूर्ति र यस मुद्दा दर्ता गर्दा लागेको खर्च समेत भराइ पाउँ,” उजुरीपत्रमा भनिएको छ।
प्रकाशित: ७ पुष २०७९, बिहीबार