
काठमाडौं ।
सन् २०२६ मा क्यानाडामा बिक्री हुने सबै प्यासेन्जर कार, एसयूभी र ट्रकहरु मध्येमा पाँचमध्ये एक विद्युतीय सवारी हुनु पर्ने नयाँ नियम वातावरण मन्त्री स्टीभन गिलबल्टले बुधबार प्रस्ताव गरेका छन्।
सन् २०३० सम्म कुल बिक्रीको ६० प्रतिशत र २०३५ सम्म क्यानाडामा बिक्री हुने सबै प्यासेन्ज भेहिकल अनिवार्य रुपमा विद्युतीय हुनु पर्नेछ।
बिक्री लक्ष्यहरू पूरा नगर्ने उत्पादकहरू वा आयातकर्ताहरूले क्यानाडाली वातावरण संरक्षण ऐन अन्तर्गत जरिवानाको सामना गर्न सक्ने दस्टारले उल्लेख गरेको छ।
क्यानाडाले सन् २०२५ का लागि तय गरेको लक्ष्य भेटाउन अझै लामो यात्रा गर्न बाँकी नै छ।
यस वर्षको पहिलो छ महिनामा, पूर्ण विद्युतीय र प्लग–इन हाइब्रिड सवारी सहित विद्युतीय सवारी साधनको बिक्रीले नयाँ कार दर्ताको ७.२ प्रतिशत मात्र ओगटेको छ। सन् २०२१ मा विद्युतीय सवारीको हिस्सा ५.२ प्रतिशत थियो।
प्रस्तावित मस्यौदा कानूनको रुपममा डिसेम्बर ३० मा प्रकाशित हुनेछ। साथै सरकारले सवारी बिक्रीको लागि क्रेडिट जारी गरेर बिक्री ट्र्याक गर्ने प्रस्ताव गर्नेछ।
पूर्ण रूपमा इलेक्ट्रिक कार र ट्रकहरू प्लग–इन हाइब्रिड भर्सन भन्दा ठूलो क्रेडिटको लायक हुनेछन्। यद्यपि सरकारले प्लग–इन हाइब्रिडहरू सम्भवतः ग्रामीण र उत्तरी क्षेत्रहरूमा प्रयोग हुने सम्भावनलाई स्वीकार गरेको देखिन्छ।
यो प्रस्तावले २०२१ को लिबरल पार्टीको चुनावी वाचा पूरा गर्छ। सरकारले अप्रिलमा प्रकाशित गरेको उत्सर्जन घटाउने योजनालाई सहयोग गर्ने यो पहिलो प्रमुख नियम हो।
सन् २०३० मा सबै क्षेत्रहरूमा हरितगृह ग्यास उत्सर्जन सन् २००५ को तुलनामा ४० देखि ४५ प्रतिशत घटाउने क्यानाडाको योजना छ।
प्यासेन्जर सवारीले सबै सडक यातायात उत्सर्जनको आधा र सबै क्षेत्रहरूमा क्यानाडाको कुल उत्सर्जनको एक दशांश ओगटेको छ।
प्रकाशित: ७ पुष २०७९, बिहीबार