वालेट प्रयोगकर्ता डेढ करोड नाघे, एक वर्षमा थपिए ५० लाख

  • Technology Khabar | १ पुष २०७९, शुक्रबार
वालेट प्रयोगकर्ता डेढ करोड नाघे, एक वर्षमा थपिए ५० लाख

काठमाडौं ।

नेपालमा भुक्तानी सेवा प्रदायक वालेट प्रयोगकर्ताको संख्या बढ्दो क्रममा देखिएको छ। नेपाल राष्ट्र बैंकको २०७९ कार्तिकको तथ्यांकअनुसार वालेट प्रयोगकर्ता १ करोड ५१ लाख ३३ हजार ७३५ छन्। २०७८ को कार्तिकमा वालेट प्रयोगकर्ता १ करोड २ लाख ३९ हजार ७ थिए।

एक वर्षको अवधिमा ४८ लाख ९४ हजार ७२८ अर्थात ४७.८० प्रतिशतले वालेट प्रयोगकर्ताको संख्या बढेको छ।

राष्ट्र बैंकका अनुसार नेपालमा २९ ओटा वालेट सेवा प्रदायकहरु सञ्चालनमा रहेका छन्। गत वर्ष पनि सोही संख्यामा वालेट सेवा प्रदायकहरु सञ्चालनमा रहेका थिए।

सहज र सरल तरिकाबाट भुक्तानी गर्न सकिने भएकाले पछिल्लो समय नेपालमा वालेटको प्रयोग बढ्दो क्रममा छ। विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट निःशुल्क वालेटमा रकम लोड गर्न सकिने भएकाले पनि यसमा प्रयोगकर्ताको आकर्षण बढ्दो छ।

मोबाइलमा वालेट एप डाउनलोड गरेपछि प्रयोगकर्ताले रकम लोड गरेर मोबाइल टपअप, बिजुली तथा खानेपानीको बिल भुक्तानी, बीमा पोलिसी खरिद तथा नविकरण, अनलाइन भुक्तानी, राजश्व, जरिवाना लगायतको भुक्तानी गर्न सक्छन्। साथै बैंक खाता नहुनेहरुले पनि वालेटको प्रयोग गर्न सक्ने भएकाले प्रयोगकर्ताहरुको आकर्षण बढेको देखिन्छ।

प्रकाशित: १ पुष २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार