
काठमाडौं ।
ओला इलेक्ट्रिकले आफ्नो इलेक्ट्रिक स्कुटरका लागि अर्को हप्ता मूभओएस ३ अपडेट जारी गर्ने भएको छ। कम्पनीले मूभओएस ३ अपडेट ओला एसवाट र एसवान प्रो इलेक्ट्रिक स्कुटरमा जारी गर्ने ड्राइभस्पार्कले उल्लेख गरेको छ।
अपरेटिङ सिस्टमको अपडेटको माध्यमबाट कम्पनीले आफ्नो स्कुटरको फरफमेन्स र फिचरमा नयाँ अपडेट उपलब्ध गराउँदै छ।
केही समय अघि कम्पनीले मूभओएस ३ को बीटा भर्सन जारी गरेको थियो। यो केही ग्राहकका लागि मात्र उपलब्ध थियो। अब यो अपडेट फुल भर्सनमा सबै एसवान र एसवान प्रो इलेक्ट्रिक स्कुटर प्रयोगकर्ताले उपयोग गर्न सक्नेछन्।
नयाँ फिचर के हुनेछ?
मूभओएस ३ अपडेट अन्तर्गत कल र म्यासेज अलर्ट, एडभान्स रिजनरेसन मोड, मूड, प्रोफाइल, पार्टी मोड र हाइपरचार्जिङ लगायत नयाँ फिचर दिइएको छ। यसका साथै हिल होल्ड असिस्ट, विजेट, डकुमेन्ट स्टोरेज, भेकेसन मोड, हजार्ड लाइट, राइड रिपोर्ट लगायत नयाँ फिचर पाउन सकिन्छ।
हाइपरचार्जिङ अपडेटसँग ओला स्कुटर कम्पनीको हाइपरचार्जिङ नेटवर्कमा १५ मिनेटको चार्जमा ५० किलोमिटरसम्मको रेञ्ज बढाउन सकिन्छ। भारतका विभिन्न शहरमा कम्पनीको ५० हाइपरचार्जर सञ्चालनमा रहेको छ।
नयाँ पार्टी मोड
कम्पनीले प्रोक्सिमिटी अनलक अपडेट पनि दिएको छ। जसको मद्दतबाट स्कुटरलाई एप्लीकेसन बिना खोल्ने वा बिना पासकोड लक वा अनलक गर्न सकिन्छ। मूभओएस ३ मा पार्टी मोडको अपडेट पनि पाउन सकिन्छ। यसबाट संगित सुन्न सकिन्छ। पार्टी मोडमा स्कुटरको हेडलाइट र टर्न इन्डिकेटर संगितको धुनसँगै बल्छ।
नयाँ अपडेटले स्कुटरबाट निक्लने साउन्डमा पनि ध्यान दिएको छ। अब ओला स्कुटर चलाउँदा मोड अनुसार विभिन्न आवाज निक्लनेछ। नयाँ अपडेटले स्पोट्र्स मोड र हाइपर मोडमा स्कुटरको एक्सेलरेसन बढाइएको कम्पनीको दाबी छ। ओला मूभओएस ३ ओटीए अपडेट मार्फत जारी गरिनेछ।
प्रकाशित: २ पुष २०७९, शनिबार