
काठमाडौं ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिकसँग श्रममन्त्री कार्यक्रम पुनः सञ्चालन गरेको छ।
प्रतिनिधि सभा र प्रदेश सभा चुनाबका कारण स्थगित गरिएको उक्त कार्यक्रम आइतबारदेखि पुनः सञ्चालन गरिएको मन्त्रालयले जनाएको हो ।
आइतबार दिउँसो ११ देखि १२ बजेसम्म मन्त्रालयको कल सेन्टरमा सञ्चालन भएको ‘श्रमिकसँग श्रममन्त्री कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँबरलाई देश र विदेशबाट श्रमिकले फोनमार्फत आफ्ना गुनासा समस्या र सुझाव राखेका थिए।
सो क्रममा श्रममन्त्री कुंबरसँग फोनमार्फत संयुक्त अरब इमिरेट्स (यूएई) मलेसिया, साउदी अरबमा रहेका १० जना श्रमिकले रोजगारीका लागि जाँदा ठगिएको गुनासो गरेका थिए।
श्रममन्त्री कुँबरसमक्ष श्रमिकले सम्झौताअनुसार विदेशमा आफूले तलब सुबिधा नपाएको, बिदेश पठाउँछु भनेर सात लाख ५० हजार रुपियाँसम्म लिएको गुनासा सुनाए।
श्रमिकका गुनासा र समस्या सुनेपछि जवाफमा मन्त्री कुँबरले वैदेशिक रोजगारीका लागि विदेश जानुपूर्व जान लागेको देश, आफूले गर्ने काम पाउने सेवासुविधा, पठाउने म्यानपावर वा व्यक्तिका बारेमा राम्ररी बुझ्ने जानकारी लिने अनि कसैलाई पैसा तिरेको भए त्यसको प्रमाण राख्नेलगायतका कुरामा ध्यान दिनुपर्नेमा जोड दिए। साथै मन्त्री कुँबरले श्रमिकका तत्काल समाधान हुने गुनासा र समस्याबारे सम्बन्धित निकायबाट समाधान खोजिने आश्वासन दिए। गोरखापत्रबाट
प्रकाशित: २६ मंसिर २०७९, सोमबार