
काठमाडौं ।
स्मार्टफोनको आगमनसँगै प्रयोगकर्ताको जीवनयापनमा धेरै सहतजा आएको छ। स्मार्टफोनको बढ्दो उपयोगसँगै ब्याट्री छिट्टै सकिने समस्या प्रयोगकर्ताले सामना गर्नु परिरहेको छ।
स्मार्टफोन सञ्चालनमा ल्याउनका लागि पर्याप्त ब्याट्रीको आवश्यकता पर्छ। स्मार्टफोनलाई चलायमान राख्नका लागि बारम्बार चार्ज गर्नु पर्ने हुन्छ। तर यात्रा वा कामको दौरान स्मार्टफोन चार्ज गर्न नसक्दा ब्याट्री कम हुन सक्छ।
ब्याट्री बचाउनका लागि उत्पादक कम्पनी लगायत टेक विश्लेषकहरुले पनि विभिन्न टिप्स दिने गरेका छन्।
एन्ड्रोइड फोनको ब्याट्री लामो समयसम्म टिकाउने गुगलको ६ टिप्स
ब्याट्री सेभर
ब्याट्री पावर १५ प्रतिशत हुने वित्तिकै आफै ब्याट्री सेभर अन हुन्छ। यदि प्रयोगकर्ताले चाहेको खण्डमा ब्याट्री सेभर अन गर्न सकिन्छ। यदि प्रयोगकर्तालाई तत्काल फोनको प्रयोग गर्नु छैन र ब्याट्री बचाउन अवश्यक लागेको खण्डमा ब्याट्री सेभर अन गर्न सकिन्छ।
ब्याट्री सेभर अन गरेपछि फोनको तल्लो र माथिल्लो भाग सुन्तला कलरमा परिवर्तन हुन्छ। सेभर अन भए पनि फोनले म्याप बन्द गरिदिनेछ। यसका साथै भाइब्रेसन, लोकेसन र ब्याकग्राउन्ड डाटालाई पनि सीमित गरिदिन्छ। यस्तै इमेल र म्यासेज सेवा सहित अन्य एप्लिकेसनको अपग्रेड प्रयोगकर्ताले नगरेसम्म स्वाचालित रुपमा लिँदैन।
ब्याट्री सेभर मोड अन गर्नका लागि सेटिङमा जानु पर्छ। ब्याट्रीको विकल्प देखिएको स्थानमा क्लिक गर्नुपर्छ। र, ब्याट्री सेभर मोडलाई अन गर्नुपर्छ।
लगातार कनेक्टिभिटीबाट बच्ने
इन्टरनेटमा कनेक्ट हुँदा फोनले तीब्र गतिमा ब्याट्री खपत गर्छ। मोबाइल हटस्पट, लामो समयसम्म जीपीएसको प्रयोग, भिडियो वा म्युजिक स्ट्रीम गर्दा र यात्राको दौरान धेरै फोन कल गर्न पनि ब्याट्री खपत बढ्छ।
बारम्बार स्क्रीन अन नगर्ने
तपाई आफ्नो ब्याट्रीलाई लामो समयसम्म टिकाई राख्न चाहनु हुन्छ भने स्क्रीनलाई बारम्बार अन गर्नु हुँदैन। डिस्प्ले फोनको सबैभन्दा बढी ब्याट्री खपत गर्छ। थोरै ब्याट्री भएको फोनमा भिडियो वा उच्च क्षमताको ग्राफिक्स भएको गेम कम खेल्नु पर्छ।
अत्याधिक प्रोसेसिङबाट बच्ने
गुगलका अनुसार ब्याट्रीको उपयोग लामो समयसम्म गर्नका लागि क्यामराको कम प्रयोग गर्ने र लगातार कुनै पनि एप्लिकेसनको प्रयोग गर्नु हुँदैन।
कनेक्टिभिटीलाई सीमित राख्ने
यदि ब्याट्री सकिन लागेको छ भने फोनलाई एरोप्लेन मोडमा राख्नु पर्छ। एरोप्लेन मोडमा फोन राख्दा ब्याट्रीको खपत निकै कम हुन्छ। ब्याट्री सकिन लाग्यो भनेर फोन अफ गर्नु हुँदैन। फोन अफ र अन गर्दा धेरै ब्याट्री खपत हुन्छ। कमजोर नेटवर्क भएको क्षेत्रमा फोनको प्रयोग गर्नु हुँदैन। यस्तो स्थानमा टावरको सम्पर्कमा आउनका लागि फोनले धेरै ब्याट्री उपयोग गर्छ। डिभाइस कनेक्ट नभएको अवस्थामा फोनले कम ब्याट्री खपत गर्छ।
वाईफाईको प्रयोग
यदि वाईफाई प्रयोग गर्नु पर्यो भने एरोप्लेन मोडमा राख्न सकिन्छ। यस्तोमा फोनले कम ब्याट्री खपत गर्छ र तपाईको काम पनि पुरा हुन्छ। फोनमा सकेसम्म आवश्यक नभएको समयमा ब्लूटूथ अफ गर्नुपर्छ।
प्रकाशित: २२ मंसिर २०७९, बिहीबार