काठमाडौं ।
अर्को नेपाली टिम डीआरएस गेमिङ पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी)को फाइनलमा प्रवेश गरेको छ। लास्ट चान्समा चौथो स्थानमा रहँदै डीआरएस पीएमजीसीको फाइनलमा स्थान बनाउन सफल भएको हो।
यस अघि नेपाली टिम टी२के समूह चरणबाटै पीएमजीसीको फाइनलको यात्रा बनाउन सफल भइसकेको थियो
अब इन्डोनेसियाको राजधानी जाकर्तामा २०२३ जनवरी ६ देखि ८ सम्म हुने फाइनलमा दुई टिम टी२के र डीआरएस गेमिङले नेपालको प्रतिनिधित्व गर्नेछन्। फाइनलमा छनोट चरणबाट १४ टिम र निमन्त्रणबाट २ टिम गरी १६ टिमले प्रतिस्पर्धा गर्नेछन्।
लास्ट चान्समा डीआरएसले कुल १२ खेलमा १११ अंक हासिल गरेर चौथो स्थानमा रहन सफल भएको छ। डीआरएसले एक चिकन डिनरसहित ३८ इलिमेसन र ७३ र्याक प्वाइन्ट प्राप्त गरेको हो।
लास्ट चान्सबाट ५ ओटा टिम फाइनका लागि छनोट भएका छन्। लास्ट चान्सबाट अल्फा ७ इस्पोर्टस्, भ्याम्पायर इस्पोर्टस्, आईएसचसी इस्पोर्टस् र आईएनसीओ गेमिङ पनि फाइनको यात्रा बनाउन सफल भएका छन्।
डीआरएस फाइनल प्रवेश गरेसँगै ७२ हजार अमेरिकी डलर अर्थात करिब ९३ लाख रुपैयाँ पुरस्कार राशी पनि प्राप्त गर्न सफल भएको छ।
४० लाख अमेरिकी डलर (करिब ५२ करोड रुपैयाँ)को प्रतियोगितामा विश्वभरका ४८ पब्जी टिमको सहभागीता रहेको थियो।
प्रकाशित: १९ मंसिर २०७९, सोमबार