
काठमाडौं ।
गुगलले एन्ड्रोइड प्रयोगकर्ताहरुलाई उनीहरुले हालसालै गुगल प्ले स्टोरबाट डाउनलोड गरेका एपहरु जाँच गर्न चेतावनी दिएको छ। ती एपहरुमा भाइरस रहेको हुन सक्ने आशंकामा गुगलले आफ्ना प्रयोगकर्ताहरुलाई चेतावनी दिएको डेल्लीरेकर्ड यूकेले उल्लेख गरेको छ।
१० लाखभन्दा बढी मानिसहरुले खतरनाक एपहरु डाउनलोड गरेका छन्। ती एपहरुले प्रयोगकर्तालाई डाटा सुरक्षाको जोखिम हुने वेबसाइटहरु भ्रमण गर्न लगाउँछन्।
ती एपहरु अनलाइन स्टोरबाट हटाइएका छन्। तर यदि अझै प्रयोगकर्ताको मोबाइलमा त्यस्ता एप छन् भने तत्काल डिलिट गर्न गुगलले अनुरोध गरेको छ।
ती सबै चार ओटा एप ‘मोबाइल एप्स ग्रुप’ अन्तर्गत बनाइएका हुन्। हाल यी एप आम प्रयोगकर्ताको पहुँचमा छैन।
ती मध्ये ब्लुटुथ अटो कनेक्ट सबैभन्दा बढी डाउनलोड भएको एप थियोर २०२० अक्टोबरमा रिलीज भएदेखि यो एप लाखौं प्रयोगकर्ताहरुले इन्स्टल गरेका छन्।
अन्य एपहरुमा ब्लुटुथ एप सेन्डर, मोबाइल ट्रान्सफरः स्मार्ट स्वीट र ड्राइभरः ब्लुटुथ, वाईफाई, यूएसबी रहेका छन्।
ग्राहकहरुको डाटा चोरी गर्न समय लगाएकाले ती एपहरु रडारमा परे। यी एप पहिलो पटक डाउनलोड गर्दा सामान्य एप जस्तै काम गरिरहेको देखिन्थ्यो।
एप डाउनलोड गरिएको केही दिन पछि स्प्याम फिसिङ वेबसाइटहरु डिभाइसमा देखा पर्न थाल्छन्। तत्कालका लागि यी वेबसाइटहरु खतरनाक नदेखिए पनि भविष्यमा चिन्ता निम्त्याउने जोखिम रहन्छ।
प्रकाशित: ८ मंसिर २०७९, बिहीबार