टेलिकमले भूकम्प अति प्रभावित जिल्लामा निशुल्क इन्टरनेट दिने

  • Technology Khabar | २२ बैशाख २०७४, शुक्रबार
टेलिकमले भूकम्प अति प्रभावित जिल्लामा निशुल्क इन्टरनेट दिने

काठमाडौं ।

काठमाडौं, २२ वैशाख । भूकम्पबाट अति प्रभावित जिल्लामा नेपाल टेलिकमले निशुल्क इन्टरनेट सेवा दिने भएको छ । दुई वर्षसम्मको लागि टेलिकमले काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा जिल्लामा द्रुतगतिको इन्टरनेट सेवा पुर्याउने भएको हो ।

टेलिकमले ग्रामिण दुर संचार कोषमा भएको २१ करोड १६ लाख रुपैयाँ खर्च गरेर भूकम्प प्रभावित जिल्लामा इन्टरनेट सेवा विस्तार गर्न लागेको हो । 

भूकम्प प्रभावित जिल्लामा टेलिकम सेवा पुर्याउनको लागि टेलिकम र दुरसंचार प्राधिकरणबीच सम्झौता भएको छ । सम्झौतामा प्राधिकरणका अध्यक्ष दिगम्बर झा र टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले हस्ताक्षर गरिन् ।

सम्झौतापछि भूकम्प प्रभावित जिल्लामा द्रुत गतिको इन्टरनेट चलाउन पाउने प्राधिकरणका अध्यक्ष झाले बताए ।  टेलिकमकी प्रवन्ध निर्देशक राजभण्डारीले समयमै आयोजना निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले आयोजना सञ्चालन गरिने जिल्लाहरुमा विस्तृत अध्ययन भईसकेको र ती स्थानहरुमा जिएसएम, सिडिएमए, एडिएसएल र वाइम्याक्स मध्ये स्थानअनुसार जुन प्रविधिबाट सम्भव हुन्छ सोही प्रविधिबाट द्रुत गतिको इन्टरनेट सेवा उपलब्ध गराइने बताईन् ।

काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा जिल्लाका सरकारी एवं सामुदायिक विद्यालय, स्वास्थ्य केन्द्र, आर्युवेद केन्द्र, वडा कार्यालय, गाउँपालिका र नगरपालिहरुमा द्रूत गतिको इन्टरनेट सेवा उपलब्ध गराउनेछ ।

साथै सो सेवाको सञ्चालन तथा मर्मत कार्यमा पनि कम्पनीले भूमिका निर्वाह गर्नेछ ।

भूकम्पले अति प्रभावित चार जिल्लामध्ये काभ्रेपलाञ्चोकका गाउँपालिका तथा नगरपालिकाका ८० स्थानमा, ११८ वटा सरकारी तथा सामुदायिक विद्यालयमा र ६९ वटा स्वास्थ्य एवं आयुर्वेद केन्द्रमा सेवा उपलब्ध गराउने छ ।

त्यस्तै सिन्धुपाल्चोकका गाउँपालिका तथा नगरपालिकाका ७० स्थानमा, ८२ वटा सरकारी तथा ससामुदायिक विद्यालय र ६१ वटा स्वास्थ्य एवं आयुर्वेद केन्द्रमा, नुवाकोटका गाउँपालिका तथा नगरपालिकाका ६२ स्थानमा, ९५ वटा सरकारी तथा सामुदायिक विद्यालय र ६१ वटा स्वास्थ्य एवं आयुर्वेद केन्द्रमा र रसुवाका गाउँपालिका तथा नगरपालिकाका १८ स्थानमा, १६ वटा सरकारी तथा सामुदायिक विद्यालय र १५ वटा स्वास्थ्य एवं आयुर्वेद केन्द्र गरी जम्मा ७४७ सेवा केन्द्रमा यो सेवा उपलब्ध गराउने छ ।

उपभोक्ताहरुलाई यो सेवा दुई वर्षसम्म निःशुल्क उपलब्ध हुनेछ ।

प्रकाशित: २२ बैशाख २०७४, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार