तार मिलाउने विद्युत प्राधिकरणको पत्र सिधै आइस्पानमा, दबाब दिन खोजेको इन्टरनेट सेवा प्रदायकहरुको आरोप

  • Technology Khabar | १८ कार्तिक २०७९, शुक्रबार
तार मिलाउने विद्युत प्राधिकरणको पत्र सिधै आइस्पानमा, दबाब दिन खोजेको इन्टरनेट सेवा प्रदायकहरुको आरोप

काठमाडौं ।

नेपाल विद्युत प्राधिकरण (एनईए) ले इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) र नेपाल केबल टिभी एसोसिएसनलाई सिधै पत्र पठाएर पोलहरुमा रहेका र अव्यवस्थित तरिकाले तानिएको तार मिलाउन भनेको छ।

नेविप्राले यहि १५ गते पत्र पठाउँदै यसअघि प्रकाशित सूचना उल्लेख गरेर केवल तथा उपकरणहरु व्यवस्थापन गर्ने गराउने कार्यमा आवश्यक सहयोग तथा समन्वय गरिदिन भनेको हो।

यहि कात्तिक १५ गते गोरखापत्रमा प्रकाशित सूचनामा पोल प्रयोग गरी अव्यवस्थित तरीकाले तार तानिएको र प्रयोगमा नरहेको तार तथा उपकरणले शहर कुरुप देखिएको र आगलागी लगायतको विद्युतीय दुर्घटनाहरु बढेको जिकिर गरेको छ। जसअनुसार ४५ दिनभित्र तार केवल तथा उपकरणहरु व्यवस्थापन नगरेमा आफैंले काटिदिने चेतावनी दिएको थियो।

हाल सोहि सूचनालाई उल्लेख गरेर पत्र पठाईएको आइस्पानका एक अधिकारीले बताए। उनले आइस्पानको इतिहासमा नै पहिलो पटक विद्युत प्राधिकरणको पत्र सिधै आएको दाबी गरे।

“हाम्रा सबै सदस्यहरुले अर्को सरकारी निकाय नेपाल दूरसञ्चार प्राधिकरणको नियमन र कानून अन्तरगत रहेर सेवा संचालन गरिरहेका छौं। तर एनईएले सिधै पत्र पठाएर चेतावनी दिएको छ,” ती अधिकारीले भने, “हामीलाई पत्र नियमनकारी निकायमार्फत पठाउनु पर्ने थियो। एनईएले हामीलाई सिधै दबाब दिन खोजेको देखिन्छ।”

उनकाअनुसार यसअघिसम्म एनईएले दूरसञ्चार क्षेत्रको नियमनकारी निकाय दूरसञ्चार प्राधिकरण मार्फत मात्र पत्र तथा निर्देशनहरु दिँदै आएको थियो।

हालको पत्रमा विद्युत प्राधिकरण अर्थात एनईएको पोल प्रयोग गरी अव्यवस्थित तरीकाले तानिएको र प्रयोगमा नरहेको अनावश्यक Optical-Fiber cable/Co-axial Cable तथा जथाभावी झुण्डयाइएको उपकरणहरुको कारण शहर कुरुप देखिएको र आगलागी लगायतको विद्युतीय दुर्घटनाहरु बढ्दै गएका कारण विद्युतीय सेवा प्रवाहमा व्यवधान उत्पन्न भएको उल्लेख छ।

“उक्त केवल तथा उपकरणहरु व्यवस्थापन गर्न अनुरोध गर्दै इन्टरनेट, केवल टि.भि. तथा दूरसंचार सेवा प्रदायकहरुलाई ४५ दिनको म्याद दिई मिति २०७९।०७।१५ को गोरखापत्रमा सुचना प्रकाशित गरिएको छ। तहाँ संगठनसंग आवद्ध ईन्टरनेट तथा केवल टि भि सेवा प्रदायकहरुलाई उक्त प्रकाशित सुचना वमोजिम निजहरुको केवल तथा उपकरणहरु व्यवस्थापन गर्ने गराउने कार्यमा आवश्यक सहयोग तथा समन्वय हुन अनुरोध गर्दछु,” उप कार्यकारी निर्देशक मनोज सिलवालले आइस्पानलाई पठाएको पत्रमा भनिएको छ।

प्रकाशित: १८ कार्तिक २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार