भृकृटीमण्डपमा बैंकिङ एक्सपो हुने

  • Technology Khabar | ११ बैशाख २०७४, सोमबार
भृकृटीमण्डपमा बैंकिङ एक्सपो हुने

काठमाडौं ।

काठमाडौं, ११ वैशाख । आगामी बैशाख १५, १६ र १७ गते काठमाडौंको भृकृटीमण्डपमा बैंकिङ एक्सपो हुने भएको छ । मिडिया इन्टरनेसनलको संयोजकत्वमा नेपाल राष्ट्र बैंक, बैंकर्स संघ, डेभलपमेन्ट बेंकर्स एशोसियसन, माइक्रो फाइनान्स डेभलपमेन्ट बेंकर्स एसोशियसन लगायतका संस्थाहरुको सहकार्यमा सो कार्यक्रम हुन लागेको हो ।

कार्यक्रम बारे जानकारी दिने उद्धेश्यले सोमबार आयोजित पत्रकार सम्मेलनमा नेपाल राष्ट्र बैंक गभर्नर कार्यालयका उपनिर्देशक विभु प्रसाद अर्यालले नेपालमा पहिलोपटक बैंकिङ एक्स्पो हुन लागेको भन्दै बैंक सम्बन्धि सूचनाका लागि मेला प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

पत्रकार सम्मेलनमा बैंकर्स संघका कार्यसमिति सदस्य अशोक शेरचनले बैंकिङ क्षेत्रका बारे बुझ्न, जान्न र बैंकिङ कर्जाबाट उद्यमी बन्नका लागि यो महत्वपूर्ण अबसर भएको बताए । पत्रकार सम्मेलनमा डेभलपमेन्ट बैंकर्स एशोसियसनका प्रथम उपाध्यक्ष राजेन्द्र पौडेलले वर्तमान अबस्थामा बैंकिङ क्षेत्र नै अर्थतन्त्रको संबाहक भएको भन्दै यस कार्यक्रमले देशमै केही गर्छु भन्नेका लागि धेरै फाइदा पुग्ने बताए ।

त्यसैगरी माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकर्स संघका कार्यबाहक अध्यक्ष रामचन्द्र जोशीले पहिलो पटक आयोजना हुन लागेको यो कार्यक्रम बैंक र शेयर बजारमा प्रभावकारी हुने अपेक्षा गरे ।

बैंकिङ एक्सपोमा नेपाल राष्ट्र बैंक, बीमा समिति, यूवा स्वरोजगार कोष, नागरिक लगानी कोष, शेयरसँग सम्बन्धित संस्थाहरु, बैंक, वित्त, बीमा, माइक्रो फाइनान्स तथा रेमिट्यान्सहरुले सूचनामूलक स्टल राख्ने आयोजकले जानकारी दिएको छ ।

प्रकाशित: ११ बैशाख २०७४, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार